सिलगढी साइबर विभागले रिकभर गर्यो ठगेको रुपियाँ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको साइबर विभागको टोली अनलाइन ठगीको पाँच लाख रुपियाँ रिकभर गर्न सफल भएको छ। घटनाक्रमअनुसार गत 6 मईको दिन सिलगढी कोर्टका वकील बुबाई साहाको बाबुको ब्याङ्क एकाउन्टबाट अचानक 5 लाख रुपियाँ कसैले निकालिदिएको थियो। यसपछि बुबाई साहाले ब्याङ्क प्रबन्धनलाई यसबारे जानकारी गराउनको साथै गत 7 मईको दिन उक्त घटनाबारे सिलगढी साइबर विभागमा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा साइबर विभागले गम्भीरताको साथमा जाँच शुरू गरेपछि अनलाइन ठगीको 5 लाख रुपियाँ रिकभर गर्न सफल बनेको छ। यस सम्बन्धमा बुबाई साहाले बताएअनुसार तिनको बाबुको ब्याङ्क एकाउन्टबाट रुपियाँ निकालेको म्यासेज तथा ओटीपी नआएकोले यसबारे थाहा पाउनअघि नै एकाउन्टबाट 5 लाख रुपियाँ निकालिसकेको थियो। साइबर अपराधीहरूले बाबुको मोबाइल ह्याक गरेर यसरी ब्याङ्क एकाउन्टबाट रुपियाँ निकालेको हो। उक्त हराएको रुपियाँ साइबर टोलीको सहयोगमा रिकभर भएकोमा तिनले साइबर टोलीको प्रशंसा गरे। अर्कोतिर, डीसीपी कुंवर भूषण सिंहले भने, गत 7 मईको दिन साइबर पीएसमा 5 लाख रुपियाँ ठगेकोबारे अभियोग दर्ता गरेपछि सिलगढी मेट्रोपोलिटन पुलिसको साइबर टोलीले जाँच शुरू गरेर निकालेको 5 लाख रुपियाँ रिकभर गर्न सफल बनेको छ। यसको साथै तिनले साधारण मानिसहरूलाई अनलाइन ठगीबाट बाँच्ने अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *