सिलगढी जिल्ला अस्पतालको मुर्दाघरमा राखिएको शव मुसाले खाइदिएपछि थानामा अभियोग दर्ता

सिलगढी : सिलगढी जिल्ला अस्पतालको मुर्दाघरमा राखेको लाश मुसाले खाएको घटना अघि आएको छ। मृतक पापाई मल्लिक (33) वीरपाड़ा निवासी थिए भने तिनी कामले गर्दा सिलगढीको प्रधाननगरमा बस्दै आइरहेका थिए। मृतकको परिवारका सदस्यले बताएअनुसार पापाई मल्लिकले हिजो प्रधाननगरस्थित भाडाको घरमा घाँटीमा पासो लगाएर आत्महत्या गरेका थिए। यसपछि उक्त शव सिलगढी जिल्ला अस्पतालमा ल्याएपछि हिजो राति मुर्दाघरमा राखेको थियो। आज बिहान उक्त शव अस्पतालबाट लैजाने क्रममा मुसाले मृतकको नाक खाइदिनको साथै शरीरको विभिन्न भागमा खुनको दाग थियो। मृतकका काका सुब्रत कुमार दासले बताएअनुसार पापाईको शव नजिक अन्य एउटी महिलाको शव राखिएको थियो भने मुसाले मृतक महिलाको शरीरको विभिन्न भाग खाइदिएको थियो। अर्कोतिर, अस्पताल अधीक्षक प्रदीप्त भट्टाचार्यले बताएअनुसार मुर्दाघरको फ्रिज धेरै समय अघिदेखि खराब रहेको साथै यसबारे दार्जिलिङका एडीएम लगायत सबै अधिकारीहरूलाई जानकारी दिएको छ। हाल एसडीओको पहलमा शव यहाँ राखिने गरेको साथै उक्त घटना अति नै दुखद रहेको तिनले बताए। अर्कोतिर, मृतकका परिवारको आरोप अनुसार अस्पतालको लापर्वाहीको कारण उक्त घटना भएको हो। यदि फ्रिज खराब थियो भने अस्पतालका प्रबन्धनले आफूहरूलाई किन सूचित गरेन। मुर्दाघरमा मुसाको उपद्रव रहे तापनि अस्पतालका प्रबन्धनले किन कुनै कार्वाही नगरेको भन्दै तिनीहरूले प्रश्न गरेका छन्। मृतकका परिवार पक्षले घटनाबारे थानामा जानकारी दिनको साथै सीएमओएच-लाई पनि यसबारे जानकारी दिने तिनीहरूले बताए। यसको साथै तिनीहरूले मुख्यमन्त्रीलाई पनि यसबारे लिखित रूपमा जनाउने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *