सिलगढीको 34 नम्बर वार्डस्थित भाजपाको चुनावी कार्यालय तोडफोड गरेको आरोप

सिलगढी : सिलगढी नगरनिगम चुनाउ अगावै सहरमा राजनैतिक हौल गर्मिएको छ। सिलगढीको विभिन्न वार्डका प्रार्थीहरूको चुनावी पोस्टर तथा ब्यानरहरू च्यातिदिएको अभियोग उठ्नको साथै घटना सम्बन्धी विभिन्न थानामा अभियोग समेत दर्ता गरिएको छ। यसपल्ट सिलगढीको 34 नम्बर वार्डमा रहेको भाजपाको बुथ कार्यालय तोडफोड गरेको अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार सिलगढीको 34 नम्बर वार्डमा भाजपा प्रार्थीको रूपमा रतन दास नगरनिगम चुनाउको मैदानमा ओर्लिएका छन्। गत राति 34 नम्बर वार्डको एफ ब्लकमा रहेको भाजपाको चुनावी कार्यालय तोडफोड गरिदिएको आरोप रहेको छ। यसको साथै भाजपा प्रार्थीको समर्थनमा लगाइएको पोस्टर, ब्यानर तथा पार्टीको झण्डा समेत च्यातिदिएपछि नदीमा फ्याँकिदिएको बताइएको छ।


घटनाको खबर पाएर मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, विधायक शिखा च्याटर्जी, दुर्गा मुर्मू लगायत अन्य भाजपाका नेतृत्वहरू घटनास्थलमा पुगे। उक्त घटनाबारे भाजपाको तर्फबाट एनजेपी थानामा अभियोग दर्ता गरिएको छ। यस सम्बन्धमा विधायक आनन्दमय बर्मनले भने, राज्यका शासकदलले चुनाउमा पराजित हुने भयले यस प्रकारको कार्य गरेको हो। सिलगढी यस प्रकारको परिवेश नरहेको बताउँदै तिनले घटनापछि पनि पुलिस प्रशासनले केही उदासीन रहेको आरोप लगाए। आगामी दिनमा यस प्रकारको घटना भएको खण्डमा भाजपाले वृहत् आन्दोलन गर्न बाध्य हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *