सिलगढीको 4 नम्बर वार्डमा पेयजल परिसेवा ठप्प, वार्डका वासिन्दाहरूको हाल बेहाल

सिलगढी (निसं): सिलगढी नगर निगमको चार नम्बर वार्डमा गत तीन दिनदेखि पिउने पानीको परिसेवा ठप्प बनेको छ। यसले गर्दा वार्डका वासिन्दाहरू हालको गर्मीमा बेहाल छन्। तथापि उक्त समस्याको समाधान गर्नको लागि हालसम्म कुनै पहल नगरिएको बताइएको छ। तथापि, यसलाई लिएर वार्डका वासिन्दाहरूले हो-हल्ला मच्चाए पछि सिलगढी नगर निगमको तर्फबाट एउटा पानीको ट्याङ्कर वार्डमा पठाइ दिएकोले केही मानिसहरूले पानी थापे। वार्डमा पानीको अझ पनि धेरै समस्या रहेको तिनीहरूको भनाई रहेको छ। पाईप लाइनको कामले गर्दा गत तीन दिन अगावै चार नम्बर वार्डका मानिसहरूलाई कुनै प्रकारको सूचना बिनै पेयजल परिसेवा बन्द गरिदिएको तिनीहरूले आरोप लगाएका छन्। पेयजल परिसेवा बन्द गरिदिए पछि मानिसहरूलाई पिउने पानीको निक्कै असुविधा भइरहेको छ। पाइपको काम शुरू गरेपछि नगर निगमको तर्फबाट कुनै वैकल्पिक व्यवस्था नगरिदिएको वार्डका वासिन्दाहरूले बताउँदै यसलाई लिएर आक्रोश व्यक्त गरेका छन्। 4 नम्बर वार्डका महिलाहरूले बताए अनुसार गत तीन दिनदेखि पाइपमा पानी आएको छैन। बढ्दो गर्मीमा अचानक पेयजल बन्द भएकोले मानिसहरू आफ्नो ज्यान बचाउन अरूको घरहरूबाट पनि पानी ल्याएर चलाउन वाध्य छन्। उखरमाउलो गर्मीमा पनि पेयजल परिसेवा बन्द भएपछि वार्डको जनतालाई सोध्न समेत हालसम्म वार्ड पार्षद नआइपुगेको तिनीहरूको भनाई रहेको छ। तथापि, आज एउटा पानीको ट्याङ्कर आए तापनि केही मानिसहरूलाई मात्र पानी पाए भने अधिकजसो मानिसहरूले एक थोपा पनि पानी नपाएको गुनासो गरेका छन्। अर्कोतिर, वार्ड पार्षद विवेक सिंहले पेयजल बन्द भएको अगावै खबर नपाएको बताए। तर यसबारे खबर पाउन साथ वार्डवासीका मानिसहरूका लागि पानीको ट्याङ्कर पठाइदिएको तिनले बताए। तिनले अझ भने, वार्डका वासिन्दाहरूलाई पानीको समस्या हुन दिने छुइँन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *