सिलगढीको आनन्दमय कोलनी जलमग्न, वार्डवासीद्वारा सड़क अवरोध गरेर प्रदर्शन

सिलगढी : लगातार परेको पानीले गर्दा सिलगढी नगरनिगमको 46 नम्बर वार्ड अन्तर्गत आनन्दमय कोलनी जलमग्न बनेको छ। उक्त इलाकाको लगभग 25-30 वटा घरभित्र वर्षाको पानी पसेकोले स्थानीय मानिसहरू समस्यामा परेका छन्। यसैले आज स्थानीय मानिसहरूले चम्पासरी मेन रोड जाम गरेर विरोध प्रदर्शन गरे। लगभग एक घण्टासम्म सडक अवरोध गरेर विरोध प्रदर्शन गरेकोले गर्दा सडकमा वाहनहरूको लामो लाइन लागेको देखियो। घटनाको खबर पाएर प्रधान नगर थाना र जङ्क्शन ट्राफिक गार्ड घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूसित कुराकानी गरेर सडक अवरोध हटाए। वार्ड पार्षद आनन्दमय कोलनी पुगेर स्थानीय मानिसहरूसित कुराकानी गर्नको साथै चाँडै समस्याको समाधान गरिदिने आश्वासन पनि दिए। स्थानीय मानिसहरूको आरोप अनुसार उक्त इलाकामा निकासी व्यवस्था राम्रो नभएकोले गर्दा नै हल्का पानी पर्न साथ इलाका जलमग्न हुने गर्दछ। यस्तो परिस्थितिमा इलाकाका धेरैजना मानिसहरू घरमै बस्न बाध्य छन्। घटनाबारे वार्ड पार्षदलाई अवगत गराए तापनि कुनै पहल नगरेपछि अन्ततः बाध्य भएर स्थानीय मानिसहरूले सड़क जाम गरेर विरोध प्रदर्शन गरेको बताइएको छ। अर्कोतिर, वार्ड पार्षद दिलीप बर्मनले भने, उक्त समस्या धेरै पुरानो हो। यस वार्डका पूर्व पार्षदले वार्डको लागि केही काम नगरेकोले गर्दा नै स्थानीय मानिसहरूले यस प्रकारको समस्याको सामना गर्न परिरहेको छ। उक्त समस्याको समाधानको लागि काम शुरू भइसकेको छ भने यसको लागि केही समय लाग्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *