सिलगढीको आवासीय समरनगर इलाकामा चितुवाको हमला, 3 जना घाइते

सिलगढी : सिलगढीको चम्पासरी अन्तर्गत पर्ने समरनगर आवासीय इलाकाको एउटा बहुतले भवनमा आज बिहान लगभग 10 बजी एउटा चितुवा पसेपछि इलाकामा आतङ्कको माहौल देखापर्यो। यसको साथै उक्त चितुवालाई हेर्नको लागि धेरै सङ्ख्यामा मानिसहरू भेला भएका थिए। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले एउटा मैदानमा उक्त चितुवालाई देखेका थिए भने उक्त चितुवाले एकजना व्यक्तिमाथि हमला गरेपछि समरनगर इलाकामा पसेको बताइएको छ। उक्त चितुवाले अन्य दुईजना व्यक्तिमाथि पनि हमला गरेपछि एउटा बहुतले भवनभित्र पस्यो। यसपछि उक्त घरको बाहिरको गेट बन्द गरिदिएपछि चितुवा घरभित्र थुनियो। घटनाको खबर पाएर प्रधाननगर पुलिस घटनास्थलमा पुगेर घटनाबारे सुकना वाइल्ड लाइफ स्क्वार्डलाई खबर दिए। लगभग 12 बजी वाइल्ड लाइफ स्क्वार्डका वनकर्मीहरू घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि गरे तापनि विफल भए। यसपछि वन विभागका टोलीले उक्त चितुवालाई घरको झ्यालबाट ट्र्याङकोलाइजरको सहयोगमा अचेत पारेर जालमा फँसाएपछि यसलाई तिनीहरूले साथमा लिएर गए। उक्त चितुवाको परीक्षणपछि जङ्गलमा छोडिने बताइएको छ। नजिकैको जङ्गलबाट आएको चितुवाको हमलामा परेर आज 3 जना व्यक्ति घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगेपछि हाल तिनीहरू उपचाराधीन अवस्थामा छन्। उक्त चितुवालाई पक्रेपछि इलाकावासीहरूले राहतको श्वास फेरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *