सिलगढीको बालासन नदीको बेली ब्रिज उद्घाटन, उद्घाटन अघि राजनैतिक हङ्गामा शुरू 

सिलगढी सिलगढीको मतिगढास्थित बालासन ब्रिजमाथि निर्माण गरिएको बेली ब्रिजको आज उद्घाटन गरियो। उद्घाटन कार्यक्रममा जिल्लाशासक, महकुमाशासक, पुलिसका वरिष्ठ अधिकारी, सिलगढी नगरनिगमको प्रशासनिक मण्डलीका सदस्यहरू उपस्थित थिए। उक्त बेली ब्रिज उद्घाटन गर्न ठिक अघि यसलाई लिएर राजनैतिक हङ्गामा शुरू भयो भने ब्रिजमाथि नै ममता ब्यानर्जी र नरेन्द्र मोदीको नाममा पार्टीका समर्थकहरूले जयजयकारको नारा पनि लगाए। मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन पनि आफ्ना समर्थकहरूको साथमा उक्त बेली ब्रिज पुगे तापनि उद्घाटन स्थलबाट विधायक एवम् तिनका समर्थकहरूलाई फर्काइदिएको आरोप रहेको छ। यसलाई लिएर भाजपाका  समर्थक एवम् विधायकले रोष प्रकट गर्दै राज्य सरकार तथा पुलिस प्रशासनविरुद्ध व्यापक नाराबाजी गरे।


कुनै पनि ठुलो अशान्ति सृजना हुन अगावै पुलिस प्रशासन एवम् जिल्लाशासकले परिस्थितिलाई नियन्त्रणमा ल्याएपछि जिल्लाशासक तथा विधायक आनन्दमय बर्मनले संयुक्त रूपमा उक्त बेली ब्रिजको उद्घाटन गरे। यस अवसरमा विधायक आनन्दमय बर्मनले भने, केन्द्र सरकारको सहयोगमा यति कम समयमा बेली ब्रिज निर्माण कार्य पुरा भयो। केन्द्र सरकारले यसको लागि 80 प्रतिशत रुपियाँ अनुदान प्रदान गरेको तिनले बताए। बेली ब्रिजमाथि ट्रायल रन भएपछि यसको उद्घाटन गर्न आवश्यक नरहेको तर सत्ताधारी दलले पुलको उद्घाटन गरेर देखावटी गरिरहेको तिनले बताए। आफू यस इलाकाको विधायक रहे तापनि बेली ब्रिजको उद्घाटन कार्यक्रममा आफूलाई निमन्त्रणा नगरेको तिनले बताए। अर्कोतिर, सिलगढी नगरनिगमको प्रशासनिक मण्डलीका सदस्य तथा उत्तरबंग विकास विभागका सदस्य रञ्जन सरकारले राज्य सरकारको पहलमा मतिगढाको बालासनमाथि बेली ब्रिज निर्माण गरिएको हो, तर केन्द्र सरकारले यसको निर्माणमा कुनै सहयोग नगरेको दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *