सिलगढीको बजारहरूमा मास्क-सेनिटाइजरको कालो बजार

सिलगढी :  देशको विभिन्न ठाउँहरूमा कोरोनाको बढ्दो संक्रमणले गर्दा हाल मानिसहरूले यसको संक्रमणबाट बाँच्नको लागि ह्यान्ड सेनिटाइजर-मास्कको प्रयोग गर्न थालेका छन्। कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राखेर विभिन्न राज्यहरूमा लकडाउन गरिएको छ। अर्कोतिर, कोरोनाको परिस्थिति चिन्ताजनक हुँदै गइरहेकोले चिकित्सकहरूले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने तथा सेनिटाइजरको प्रयोग गर्ने सुझाउ दिइरहेका छन्। यसैले गर्दा कोरोना भाइरसको संक्रमणबाट बाँच्नको लागि मानिसहरूले मास्क र ह्यान्ड सेनिटाइजरको प्रयोग गर्न थालेका छन् भने यता बजारहरूमा यसको माग निक्कै बढ्दै गइरहेको छ। यसैको फाइदा उठाएर सिलगढीको विभिन्न बजारहरूमा मास्क तथा सेनिटाइजरको काला बजार शुरू भएको देखिन्छ। यसले गर्दा साधारण-मध्यम वर्गीय मानिसहरू निक्कै समस्यामा परेकोले गर्दा सरकार तथा प्रशासनले हस्तक्षेप गर्नुपर्ने तिनीहरूले माग गरेका छन्। केही दिन अघि थोक बजारमा सर्जिकल मास्कको मूल्य 1 रुपियाँ थियो भने अब यसको मूल्य बढेर लगभग 3 रुपियाँ पुगेको छ। खुद्रा बजारमा यसको मूल्य अझ अधिक रहेको छ। अर्कोतिर, सेनिटाइजरको मूल्यमा पनि निक्कै वृद्धि भएको छ। 100 रुपियाँको सेनिटाइजरको एउटा बोतल अहिले 200 देखि 300 रुपियाँ सम्ममा बिक्री गरिरहेको बताइएको छ। केही दोकानका व्यवसायीहरूले मास्क लुकाएर विभिन्न समस्या देखाउँदै यसको मूल्यमा वृद्धि गरिरहेको आरोप रहेको छ। सिलगढीका महाबीरस्थान, हकर्स कर्नरका केही व्यवसायीले बताएअनुसार दिल्लीमा लकडाउन भएकोले मास्कको अहिले सप्लाई बन्द भएको छ। यसको साथै व्यापारीहरूले मास्क ल्याउने ठाउँमा नै यसको मूल्य वृद्धि भएको तिनीहरूको भनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *