सिलगढीको भिन्ना-भिन्नै ठाउँबाट आग्नेयास्त्रसहित दुईजना पक्राउ

सिलगढी : सिलगढीको दुई भिन्ना-भिन्नै ठाउँबाट हिजो राति आग्नेयास्त्रसहित दुईजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले हिजो राति एनजेपी थाना संलग्न रेलवे अस्पताल अघिबाट आग्नेयास्त्रसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक सिलगढीको सूर्यसेन कोलनीको ए ब्लक निवासी विभास दत्तको रूपमा चिन्हित गरिएको छ। पुलिसले पक्रा परेका युवकबाट एउटा देशी पिस्तोलसहित एक राउण्ड कार्तुस उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार विगत धेरै दिन अघिदेखि उक्त युवक विविध अपराधमूलक कार्यमा संलग्न थिए। अर्कोतिर, भक्तिनगर थाना पुलिसले हिजो राति सिलगढीको हैदरपाडा मार्केट कम्प्लेक्स संलग्न इलाकाबाट आग्नेयास्त्रसहित कालु दे उर्फ् सञ्जय नाम गरेको एकजना युवकलाई पक्राउ गरेको छ।


पुलिस सूत्रले दिएको जानकारीअनुसार गत राति एकजना युवक एउटा स्कुटीमा सवार भएर हैदरपाडा मार्केट संलग्न इलाकामा घुमफिर गरिरहेको देखेपछि सन्देहको आधारमा पुलिसले रोकेर छानबीन गर्दा तिनको कम्मरमा रहेको एउटा पिस्तोल सहित तीन राउण्ड कार्तुस उद्धार गरेको बताइएको छ। पक्रा परेका दुवै युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो। स्मरण रहोस्, आगामी 17 अप्रेलको दिन पाँचौँ चरण अन्तर्गत दार्जिलिङ, कालेबुङ र जलपाईगढी जिल्लामा चुनाउ हुने भएकोले गर्दा हाल राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी लगायत अन्य दलका शीर्ष नेताहरूले एकपछि अर्को गर्दै लगातार उत्तर बंगालमा आएर चुनाउ प्रचार गरिरहेको समयमा सिलगढीबाट एकपछि अर्को गर्दै आग्नेयास्त्र तथा बमहरू उद्धार भएको घटनाले प्रशासनिक अधिकारीहरू चिन्तित बन्न पुगेका छन्। तथापि, उक्त घटनाहरूपछि सिलगढी मेट्रोपलिटन पुलिसले सुरक्षा व्यवस्था अझ कठोर गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *