सिलगढीको देवीडाङ्गाबाट अनलाइन लटरीको व्यवसाय गर्ने व्यक्ति पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले सादा पोसाकमा गत राति छापामार अभियान चलाएर अनलाइन लटरीको नाममा जुवाको व्यवसाय चलाइरहेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति रोशन गोस्वामीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार रोशन गोस्वामीले प्रधान नगर थाना अन्तर्गत देवीडाङ्गाको अटो स्ट्यान्ड संलग्न इलाकामा धेरै समय अघिदेखि अनलाइन लटरीको नाममा अवैध रूपमा जुवाको व्यवसाय चलाइरहेको थियो। प्रशासनको आँखा छलेर उक्त आरोपीले दोकान बाहिर मोबाइल रिपेयरिङ र अनलाइन क्याफेको बोर्ड लगाएको थियो। गोप्य सूचनाको आधारमा प्रधान नगर थाना पुलिसले गत राति सादा पोसाकमा छापामार अभियान चलाएर रोशन गोस्वामीको दोकानबाट अनलाइन लटरीको टिकट, कम्प्युटर, सीपीयु लगाय विभिन्न सामग्रीहरू जफत गरेको बताइएको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *