सिलगढीको ईस्टर्न बाइपासबाट उद्धार गरेको हतियारको मामिला बिहारसित जोडिएको खुलासा, पुलिस टीम बिहार जाने सम्भावना

सिलगढी: भक्तिनगर थानाको पुलिसले गत 29 अगस्तको राति ईस्टर्न बाइपास नजिकबाट नितेश शाहलाई तीनवटा देशी पिस्तोलसहित 6 राउन्ड जिउँदो कार्तूससँगै पक्राउ गरेको थियो। यसपछि आरोपीलाई जलपाइगढी अदालतमा पेश गरेर 8 दिनको लागि पुलिस हिरासतमा लिएपछि सोधखोज अवधि आरोपी नितेश बिहारको खगरिया जिल्ला निवासी रहेको तथा तिनी हालैमा मात्र सिलगढीमा बस्नु थालेको थाहा लागेको छ। तिनको बिहारमा केही अपराधी गुटसित सम्पर्क रहेको खुलासा भएको छ। पक्रा परेको हतियार पनि तिनले बिहारबाट नै ल्याएका थिए। यसबारे भक्ति नगर थानामा पत्रकार सम्मेलन गरेर मेट्रोपोलिटन पुलिसको एसीपी शुवेन्द्र कुमारले जानकारी दिएका छन्। तिनले बताए अनुसार भक्तिनगर थानाको आईसी अमरेश सिंह अनि तिनको सादा पोशाक टीमले तीनवटा पिस्तोलसहित 6 वटा जिउँदो कार्तुस अनि बिहार नम्बरको एउटा बाइकसँगै एकजनालाई पक्राउ गरेको थियो। आरोपीसित सोधखोज गर्दा धेरै कुराको रहस्योत्घाटन भएको बताइएको छ। आरोपीको बिहारसित साँठगाँठ रहेको थाहा पाएपछि यसबारे पुलिसले गहन रूपमा जाँच गरिरहेको छ। यस मामिलामा भक्तिनगर थानाको पुलिस बिहार पुलिससित सम्पर्क गरेर जाँचको लागि बिहार जान सक्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *