सिलगढीको एउटा खाली घरमा चोरको रगरगी, जाँचमा जुट्यो पुलिस

सिलगढी  :  सिलगढीको 15 नम्बर वार्डको पूर्व विवेकानन्दपल्लीको मङ्गलपाण्डे सरणीमा चोरीको घटना घटेको छ। प्राप्त जानकारी अनुसार उक्त घरका मालिक सपरिवार कोलकातामा बस्दै आइरहेका छन्। धेरै दिन अघिदेखि उक्त घर खाली रहेकोले गर्दा यसको फाइदा उठाएर गत 3 दिनदेखि उक्त घरमा चोरले लगातार उत्पात मच्चाइरहेको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार गत दुई दिन अघि उक्त घरबाट निस्केर एकजना युवक भागिरहेको स्थानीय मानिसहरूले देखेपछि सन्देह लागेर घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पानीट्याङ्की आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। यसपछि उक्त घरमा एकजना सुरक्षाकर्मी तैनाथ गरिएको छ। तरै पनि दिउँसै उक्त घरमा चोरले उत्पात मच्चाइरहेको बताइएको छ। आज साँझ फेरि उक्त घरमा लाइट बलेको देखेपछि छिमेकीहरूले यसबारे पुलिसलाई खबर दिए। खबर पाएर पुलिस घटनास्थलमा पुगेर छिमेकीहरूको साथमा उक्त घरभित्र प्रवेश गरेर हेर्दा सर-समानहरू चारैतिर छरपस्ट अवस्थामा रहेको साथै झ्यालको ग्रिल काटेको देखे। उक्त घरबाट धेरै समानहरू चोरी भइसकेको पुलिसले अनुमान लगाएको छ। घटनाबारे घर मालिकलाई खबर दिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *