सिलगढीको जनतापाडाबाट निखोज भएकी नाबालिका अपहरणको आशंकामा दुई महिला हिरासतमा

सिलगढी : एनजेपीको जनतापाड़ा निवासी 16 वर्षीय नाबालिका निखोज भएकोले उक्त घटनामा संलग्न रहेको आशंकामा पुलिसले दुईजना महिलालाई हिरासतमा लिएको छ। प्राप्त जानकारीअनुसार गत 19 मार्चमा एनजेपीको जनतापाड़ा निवासी 16 वर्षीय नाबालिका आफ्नो घरबाट निखोज भएकी थिइन्। उक्त घटनापछि परिवारका सदस्यहरूले तिनको खोजी गरे तापनि तिनको कुनै पत्तो लागेन। तर उक्त घरबाट निखोज नाबालिकाले अचानक फोन मार्फत् आफूलाई अपहरण गरेर लगिरहेकोबारे घर परिवारलाई बताइन्। यसपछि नाबालिकाका परिवारका सदस्यहरूले एनजेपी थानामा गएर छोरी निखोज भएकोबारे एउटा अभियोग दर्ता गर्नको साथै छोरीले गरेर फोन कलबारे पुलिसलाई अवगत गराए। यसपछि उक्त फोन कलको आधारमा पुलिसले सीसीटीभी फुटेज जाँच गर्दा एउटी महिला र एकजना व्यक्ति एनजेपी स्टेशनमा उक्त नाबालिकालाई साथमा लिएर ट्रेनमा चढ़िरहेको थाहा पाएपछि उक्त घटनाको जाँचमा जुटेका पुलिसले दुईजना महिलालाई हिरासतमा लिएर सोधखोज गरिरहेको छ। स्थानीय मानिसहरूको आरोप अनुसार बाहिरका मानिसहरू यहाँ आएर घर भाडामा लिएर बस्ने गरेको साथै स्थानीय केही मानिसहरूलाई रुपियाँको प्रलोभन देखाएर यहाँबाट नाबालिकाहरूलाई अन्य राज्यहरूमा तस्करी गरिरहेका छन्। स्थानीय मानिसहरूले उक्त घटनाको जाँच चाँडोभन्दा चाँडो गर्ने प्रशासनसमक्ष माग गरेका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *