सिलगढीको जङ्क्सन इलाकाबाट अज्ञात व्यक्तिको शव उद्धार

सिलगढी : सिलगढीको जङ्क्सन इलाकाबाट पुलिसले एकजना अज्ञात व्यक्तिको शव आज उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार जङ्क्सन संलग्न इलाकाबाट रक्ताम्मे अवस्थामा एकजना अज्ञात व्यक्तिको शव उद्धार भएपछि पोस्टमार्टमको निम्ति उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिएको छ। स्थानीय मानिसहरूले आज बिहान उक्त शव जङ्क्सन नजिक झाँडी छेउमा देखेपछि यसबारे प्रधाननगर पुलिसलाई जानकारी गराए। पुलिसले प्रारम्भिक छानबीन अनुसार तिनको टाउको लगायत अन्य ठाउँहरूमा ढुङ्गाले हिर्काएर हत्या गरेको आशंका जनाएको छ। सम्भवतः बाहिरबाट आएको उक्त व्यक्तिलाई छिनताई गर्ने उद्देश्यले हत्या गरेको हुनसक्ने पुलिस सूत्रले जनाएको छ। तथापि, पोस्टमार्टमको रिपोर्टपछि नै सबै कुराको खुलासा हुनेछ। शवको नजिकमा एउटा ब्यागमा लुगाहरू पनि भेट्टाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *