सिलगढीको खुदीराम कोलनीमा 7 जना कोरोना संक्रमित

सिलगढी : सिलगढीको इस्टर्न बाइपास संलग्न डाबग्राम 2-को खुदीराम कोलनीमा 7 जना मानिसहरूमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। कोरोना संक्रमित रोगीहरूलाई गत राति एम्बुलेन्समार्फत् जलपाईगढी अस्पतालमा लगेको डागग्राम 2 नम्बर पञ्चायत प्रधान सुधा सिंह च्याटर्जीले बताइन्। तिनले बताएअनुसार केही दिन अघि उक्त इलाकाका एकजना व्यक्ति कोरोना संक्रमित भएको थियो। संक्रमित व्यक्ति सेठ श्रीलाल मार्केटमा लुगा सिलाउने काम गर्दथे। उक्त व्यक्तिमा कोरोना संक्रमित रहेको पुष्टि भएपछि स्वास्थ्य विभागको तर्फबाट तिनका परिवारका सदस्य लगायत छिमेकीहरूको स्वाब टेस्ट गर्नको लागि लैजानको साथै ती सबैलाई होम क्वारेन्टाइनमा बस्ने निर्देश दिएको थियो। हिजो परिवारका 2 जना सदस्य लगायत मोठ 7 जनाको रिपोर्ट पोजेटिभ आएपछि राति नै तिनीहरूलाई जलपाईगढी अस्पतालमा लगिएको छ। केही दिन अघि नै उक्त इलाकामा बाँसको ब्यारिकेड लगाइएको थियो भने आज दमकल विभागको सहयोगमा प्रशासनले उक्त इलाकामा सेनिटाइज गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *