सिलगढीको मतिगढाबाट पेन्गोलिनको खपेटासहित एकजना पक्राउ

सिलगढी : सिलगढी महकुमाको मतिगढा इलाकामा वन विभागले अभियान चलाएर पेन्गोलिनको खपेटा उद्धार गर्नको साथै एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक अलिपुरद्वार निवासी 26 वर्षीय मुरशिद आलमको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत अबेर राति गोप्य सूचनाको आधारमा सालुगढा रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वन विभागले मतिगढा इलाकामा अभियान चलाए। गत अबेर राति लगभग 1 बजी मतिगढाको बालासन नदीको पुल नजिक केही युवकहरू बाइक रोकेर बसिरहेका थिए भने वन कर्मीहरूलाई देखेपछि तिनीहरू त्यहाँबाट सुइँकुच्चा ठोके तापनि तीमध्ये एकजना युवकलाई वन विभागले पक्राउ गरेको छ।


उक्त युवकबाट वन विभागले विरल प्रजाति पेन्गोलिनको खपेटा उद्धार गरेको छ। यसको ओजन 4 केजी 140 ग्राम रहेको छ। यसको साथै वन विभागले दुईवटा बाइक पनि जफत गरेको छ। वन विभागले दिएको जानकारी अनुसार ती युवकहरूले भुटानबाट उक्त पेन्गोलिनको खपेटा ल्याएर नक्सलबारी हुँदै बिक्रीको लागि नेपाल भित्र्याउने तर्खरमा रहेको थियो। घटनास्थलबाट सुइँकुच्चा ठोक्ने केही युवकलाई चिन्हित गरिएकोले तिनीहरूको खोजी भइरहेको साथै घटनाको जाँच शुरू गरेको वन विभागले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *