सिलगढीको नौकाघाटमा भएको सडक दुर्घटनामा गर्भवती महिलासहित 3 जनाको मृत्यु, लोग्ने गम्भीर घाइते

सिलगढी : गर्भवती महिलालाई कालेबुङ जिल्ला अस्पतालबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लैजाने क्रममा एम्बुलेन्स मर्मान्तिक सडक दुर्घटनामा परेर घटनास्थलमै गर्भवती महिला सहित 3 जनाको मृत्यु भएको छ। उक्त घटनामा अन्य एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन् भने ती सबैजना कालेबुङ निवासी हुन्। प्राप्त जानकारीअनुसार गर्भवती महिला अनिशा राई कालेबुङ जिल्ला अस्पतालमा चिकित्साधीन अवस्थामा थिइन् भने चिकित्सकहरूले तिनलाई हिजो उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा स्थानान्तरित गरिदिए। यसपछि तिनलाई एम्बुलेन्समा हालेर लोग्ने कपिल बराइली, तिनको सासु लीला राईले सिलगढी ल्याइरहेको समय अबेर राति लगभग 2 बजी नौकाघाट संलग्न पोडाझार इलाकामा उक्त एम्बुलेन्स एउटा ट्रकसित ठोक्किँदा गर्भवती महिला अनिशा राई, लीला राई र एम्बुलेन्स चालक अभिषेक विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ भने लोग्ने कपिल गम्भीर रूपमा घाइते भएका छन्।


घाइते लोग्ने कपिललाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्। अर्कोतिर, ट्रक चालकले घटनास्थलबाट चम्पट कसेको बताइएको छ। गत अबेर राति भएको सडक दुर्घटनास्थलको आज बिहान डीसीपी जय टुडु लगायत अन्य पुलिस अधिकारीहरूले निरीक्षण गरे। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *