सिलगढीको प्रधाननगर थाना परिसरमा आगलागी, धेरैवटा वाहनहरू जलेर भष्म

सिलगढी : सिलगढीको प्रधान नगर थाना परिसरको रेगुलेटेड मार्केटको 1 नम्बर गेट नजिक पुलिसद्वारा सीज गरेर राखिएका वाहनहरू तथा फलको टोकरीमा गत राति लगभग 9 बजे अचानक आगलागी हुँदा यसले भीषण रूप धारण गर्यो। आगलागीबारे तत्कालै अग्निशमन विभागलाई खबर दिएपछि दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर घण्टौँसम्मको लगातार प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्नेबारे थाहा नलागे तापनि प्रधान नगर थाना पुलिसले यसको जाँच शुरू गरेको छ भने आगलागीको फरेन्सिक जाँच पनि गरिने बताइएको छ। उक्त आगलागीमा थाना परिसरमा सीज गरिएर राखिएका धेरैवटा वाहनहरू जलेर भष्म भएको छ। स्थानीय मानिसहरूको भनाइअनुसार दमकल कर्मीहरू समयमै घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याएकोले गर्दा नै कुनै ठुलो अप्रिय दुर्घटना हुनबाट जोगियो। घटनास्थलदेखि लगभग 300 मीटरको दूरीमा एउटा पेट्रोल पम्प रहेको छ। उक्त आगलागीले गर्दा प्रधान नगर, रेगुलेटेड मार्केट, चम्पासारी  इलाकामा केही समयको लागि आतङ्कको माहौल सृजना भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *