सिलगढीको रवीन्द्रनगर हत्याकाण्डमा इञ्जिनियर र तिनका भाई पक्राउ

सिलगढी : सिलगढीको रवीन्द्रनगर हत्याकाण्डमा संलग्न रहेको आरोपमा  सिलगढी थाना पुलिसले इञ्जिनियर गौतम देव र तिनका भाई गौरव देवलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। स्मरण रहोस्, गत 30 नोभेम्बरको दिन सिलगढी रवीन्द्रनगरको निरञ्जननगर निवासी सुशील दासको रक्ताम्मे अवस्थामा मृतदेह उद्धार गरिएको थियो। तिनको टाउकोमा गम्भीर चोट लागेको थियो। सुशील दासले पुरानो भत्केको सामग्रीहरू संग्रह गरेर बिक्री गर्ने गर्दथे। मृतदेह फेला परेको ठाउँ नजिकै रहेको एउटा घरबाट ढक-तराजु राखेको तिनको एउटा झोला उद्धार गरेको बताइएको छ। घटनाको जाँचमा जुटेका सिलगढी थाना पुलिसलाई उक्त घरका दुई भाई गौतम देव र गौरव देवमाथि सन्देह लागेपछि हिजो ती दुई भाईलाई पक्राउ गरेर थानामा लगेपछि सोधखोज शुरू गरेको बताइएको छ। यसपछि पुलिसले आज दुई भाईलाई सिलगढी अदालतमा पेश गर्यो। तथापि, सुशील दासको किन अनि कसरी हत्या गरियो भन्नेबारे पुलिसले केही भन्न चाहेनन्। दुवै आरोपीलाई अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएर घटनाबारे सोधखोज गर्ने पुलिस सूत्रले जनाएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार फरेन्सिक टोली केही दिन भित्रमा उक्त घरमा आएर घटनाको जाँच शुरू गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *