सिलगढीमा महिलाको ब्याग छिन्ताइ गरेर चम्पट कसे बदमाश

सिलगढी, 27 नोभेम्बर (निसं): सिलगढीमा अपराधीहरू निडर बनेका छन्। यस कारण चोरी, लुटपाट र छिन्ताइका घटनाहरू अब यहाँ सामान्य कुरा बनेको छ। मंगलबार साँझ प्रधाननगर थाना क्षेत्रको दुई नम्बर वार्डस्थित बाघाजतिन कोलोनीको गल्लीमा एकजना महिलासँग छिन्ताइको घटना घटेको छ। जसले गर्दा क्षेत्रभरि सनसनी मच्चिएको छ।
प्राप्त जानकारी अनुसार, बाघजतिन कोलोनीकी पापड़ी मुखर्जी नामक महिला ई-रिक्शाबाट ओर्लिएर पैदल घर जाँदै थिइन्, त्यही बेला मोटरसाइकलमा सवार दुई अपराधीहरूले उनको हातबाट ह्यान्ड ब्याग थुतेर चम्पट कसे। महिलाले बताए अनुसार उक्त ब्यागमा नगद रूपियाँ, मोबाइल र केही आवश्यक कागज-पत्रहरू थियो। घटनाको जानकारी पाउन साथ प्रधाननगर थाना पुलिस तत्कालै घटनास्थलमा पुगे अनि त्यसपछि महिलासँग सोधखोज गरी जाँच सुरु गरेको छ। पुलिसले उक्त क्षेत्रको सीसीटीभी क्यामेराको जाँच गरेर अपराधीहरूको पहिचान गर्ने प्रयास सुरु गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *