सिलगढीमा 120 किलो गाँजासहित तीनजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले अभियान चलाएर लाखौँ रुपियाँको गाँजा, दुईवटा वाहनसहित 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू जलपाईगढी निवासी चन्दन राय, शम्भु दास र स्वपन राय सामेल छन्। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले गत मङ्गलबार 156 किलो गाँजा उद्धार गरेको 24 घण्टाको अवधिमै फेरि लगभग 120 केजी गाँजा, दुईवटा वाहन सहित 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। जफत गरेको गाँजाको अनुमानित बजार मूल्य लगभग 15 लाख रुपियाँ रहेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार कुचबिहारदेखि दुईवटा वाहन गाँजा लिएर फुलबारी भएर बिहारतर्फ गइरहेको समय गोप्य सूचनाको आधारमा हिजो अपरान्ह एनजेपी थानाका ओसी समीर तामाङ, एसआई गौतम मल्लिक र एएसआई खगेन बर्मनको नेतृत्वमा पुलिस बलले फुलबारी बजार अभियान चलाएर दुईवटा वाहन रोकेर छानबीन गर्दा 120 केजी गाँजा उद्धार गरेको बताइएको छ। यसको साथै पुलिसले दुईवटा वाहनसहित 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूलाई आज जलपाईगढी अदालतमा पेश गरेर पुलिस रिमान्डमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *