सिलगढीमा बदमाशहरूद्वारा घरको दैलोमा ताला लगाएपछि आगो लगाएर परिवारका सदस्यहरूलाई जिउँदै मार्ने प्रयास

सिलगढी : सिलगढी नगरनिगमको एक नम्बर वार्ड अन्तर्गत 2 नम्बर पञ्चानन कोलनीमा केही बदमाशहरूले एउटा घरमा आगो लगाइदिएपछि बाहिर निस्कन नपाओस् भन्ने उद्देश्यले घरको मुख्य दैलोमा ताला लगाएर घरका मानिसहरूलाई जिउँदै जलाउने प्रयास गरेको घटना प्रकाशमा आएको छ। तथापि, स्थानीय मानिसहरूको सहयोगमा उक्त आगोलाई समयमा नै नियन्त्रणमा ल्याइएकोले परिवारका सदस्यहरूको ज्यान बाँचेको बताइएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति एक नम्बर वार्ड अन्तर्गत 2 नम्बर पञ्चानन कोलनी निवासी सन्टु रायको घरमा केही बदमाशहरूले आगो लगाइदिएपछि गेटमा ताला लगाएर सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको केही समयपछि सन्टुको छिमेकीले तिनको घरमा आगो लागेको देखेपछि स्थानीय मानिसहरूको सहयोगमा उक्त आगोलालाई नियन्त्रणमा ल्याएर सन्टु राय र तिनका परिवारका सदस्यहरूलाई सकुशल बाहिर निकाले।


स्मरण रहोस्, सन्टु राय तृणमूल कङ्ग्रेस नेताको रूपमा परिचित छन्। कसले यस प्रकारले तिनको घरमा आगो लगाइदिएको भन्नेबारे हाल केही थाहा नभएको बताइएको छ। आज बिहान सन्टु रायले घटनाबारे प्रधान नगर थानामा एउटा लिखित अभियोग दर्ता गरे। सन्टु रायले बताएअनुसार गत अबेर राति स्थानीय मानिसहरूले हो-हल्ला गरेपछि मात्र आफूहरूले घरमा आगो लागेको अनि घरको गेटमा ताला लगाइएको बारे थाहा पाए। घरको गेटमा ताला लगाइएकोले गर्दा तिनीहरू घरबाट बाहिर निस्कन सकेनन्। यदि छिमेकीहरूले सहयोग नपुर्‍याएको भए आफूहरूको मृत्यु हुनसक्ने तिनले बताए। पुलिसले चाँडोभन्दा चाँडो आरोपीहरूलाई खोजी निकालेर कठोर सजाय दिइनुपर्ने तिनले माग गरे। यसको साथै स्थानीय मानिसहरूले उक्त घटनाको तीव्र निन्दा गरे। घटनाको खबर पाएर प्रधान नगर थानाका आईसी र एसीपी मनीष यादव घटनास्थलमा पुगेर निरीक्षण गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *