सिलगढीमा भाजपाको प्रार्थी घोषणा हुन अगावै देवाल लेखनमार्फत् चुनाउ प्रचार शुरू

सिलगढी बंगाल विधानसभा चुनाउ 2021-को लागि लगभग सबै पार्टीहरूले सबै विधानसभा आसनमा आ-आफ्नो प्रार्थीको नाम घोषणा गरिसकेको छ। सिलगढीमा वाम-कङ्ग्रेस गठबन्धन र तृणमूल कङ्ग्रेसले आफ्नो प्रार्थीको नाम घोषणा गरिसकेको छ भने भाजपाले हालसम्म आफ्नो प्रार्थीको नाम घोषणा गरेको छैन। तथापि, भाजपाले प्रार्थीको नाम घोषणा नगरे तापनि आज सिलगढीमा देवाल लेखनमार्फत् चुनाउ प्रचार शुरू गरेको छ। भाजपा दार्जिलिङका सांसद राजु विष्टले सिलगढी नगरनिगमको 10 नम्बर वार्डमा देवालमा कमलको फुल बनाएर चुनाउ प्रचार गरे। यसपछि तिनले इन्टरनेशनल मार्केटमा प्रत्येक व्यवसायीहरूसित भेट गर्दै भाजपा प्रार्थीलाई मतदान गरेर विजय बनाउने अपील गरे। अर्कोतिर, पत्रकारहरूसित कुराकानी गर्दै राजु विष्टले भाजपाले सिलगढी विधानसभा आसनमा एकजना योग्य तथा भरोसा लाग्दो प्रार्थी खडा गरेर सिलगढीको जनताको हितमा कार्य गर्ने बताए। तिनले तृणमूल कङ्ग्रेसमाथि कटाक्ष कस्दै तृणमूल एउटा लिमिटेड कम्पनी हो जसको मालिक ममता र तिनका भदै हुन् भनी बताए। अर्कोतिर, तृणमूल कङ्ग्रेस छोडेर सिलगढी विधानसभा आसनबाट निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड्ने नान्टु पालको सन्दर्भमा तिनले भने, जसले जनताको भलाई चाहन्छ, तिनीहरूलाई आफ्नो पार्टीमा स्वागत छ। तर भाजपाले कुनै पनि दुष्कृतिहरूलाई आफ्नो पार्टीमा सामेल गर्ने छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *