सिलगढीमा कन्स्टेबल पदको परीक्षामा 5 जना नकली परिक्षार्थी पक्राउ

सिलगढी : सिलगढी वेस्ट बेङ्गल पुलिस रिक्रुटमेन्ट बोर्डले कन्स्टेबल पदको परीक्षामा प्रधाननगर थाना पुलिसले 5 जना नकली परिक्षार्थीलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा पवन कुमार, सन्टु कुमार, नवीन कुमार, आसिफ कुमार र धर्मेन्द्र कुमार सामेल छन्। प्राप्त जानकारी अनुसार आज विभिन्न ठाउँहरू लगायत सिलगढीमा पनि कन्स्टेबल पदको लागि लिखित परीक्षा सम्पन्न भयो। उक्त परीक्षामा असली परिक्षार्थीको बद्लीमा नकली परिक्षार्थीले परीक्षा दिइरहेको आरोपमा सिलगढीको देशबन्धु हिन्दी हाई स्कुलबाट 5 जनालाई पक्राउ गरेको छ। घटनापछि स्कुल कर्तृपक्षको तर्फबाट प्रधाननगर थानामा अभियोग दर्ता गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सरकारी नियम अनुसार आज देशबन्धु हिन्दी हाई स्कुलमा पश्चिम बङ्गाल पुलिस रिक्रुटमेन्ट बोर्डको कन्स्टेबल पदको परीक्षा शुरू भएको केही मिनटमै परीक्षा केन्द्रमा दुई परिक्षार्थीमाझ वाद-विवाद शुरू भयो। छानबीन गर्दा परीक्षा केन्द्रमा असल परिक्षार्थीको ठाउँमा नकली परिक्षार्थी पसेको थाहा पाइयो। यसपछि परीक्षा केन्द्रमा पुलिस आइपुगेर सबै परिक्षार्थीहरूको छानबीन गर्दा 5 जना नकली परिक्षार्थीलाई पक्राउ गरेको बताइएको छ। प्राथमिक सोधखोजपछि पुलिसले ती 5 जना परिक्षार्थी पटनाबाट आइपुगेको थाहा पाए। 75 हजार रुपियाँ दिएर असली परिक्षार्थीले तिनीहरूलाई आफ्नो बद्ली परीक्षा दिन लगाए थियो भने परीक्षा दिन अघि तिनीहरूलाई 5 हजार रुपियाँ अनि लिखित परीक्षामा उर्तीण भए अन्य रहल रुपियाँ दिने सम्झौता भएको बताइएको छ। वेस्ट बेङ्गल पुलिस रिक्रुटमेन्ट बोर्डको कन्स्टेबल पदको लिखित परीक्षा दिनको लागि हिजो पटनाबाट 45 जनाको एउटा टोली सिलगढी आइपुगेका थिए। हालसम्म नकली परिक्षार्थीको रूपमा केवल 5 जनालाई मात्र पक्राउ गरिएको छ। प्रधान नगर थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *