सिलगढीमा गरिब रोगीहरूको लागि मात्र 2 रुपियाँमा एम्बुलेन्स परिसेवा

सिलगढी : सिलगढी एवम् सिलगढी संलग्न इलाकाका गरिब मानिसहरूको लागि मात्र 2 रुपियाँमा एम्बुलेन्स परिसेवा उपलब्ध गराइएको छ। छोरा अनिर्वान पालको पुण्यतिथिमा आमा सुमिता पालले उक्त पहल गरेकी हुन्। प्राप्त जानकारीअनुसार गत वर्ष 3 अगस्तको दिन सिलगढी नगरनिगमको 39 नम्बर वार्डको हैदरपाडा निवासी अनिर्वान पालको कोरोना संक्रमित भएर मृत्यु भएको थियो। छोराको पुण्यतिथिको अवसरमा आज आमा सुमिताले तिनको स्मरणमा समाजका गरिब मानिसहरूको सहयोग गर्ने उद्देश्य लिएर 2 रुपियाँमा एम्बुलेन्स परिसेवा प्रदान गर्ने पहल गरेकी बताइएको छ। यस अवसरमा तिनले भनिन्, कोरोना संक्रमण भएर छोराको मृत्यु भएकोले मृत्युपछि पनि छोरा सबैमाझ जीवित रहोस् भन्ने उद्देश्य लिएर उक्त पहल गरेको हो। स्वयम्‌सेवी संस्था युनिक सोशल वेलफेयर सोसाइटीलाई छोरा अनिर्वानको स्मरणमा गरिब मानिसहरूको सहयोग गर्ने उद्देश्यले आज एउटा एम्बुलेन्स प्रदान गरिन्। अर्कोतिर, संस्थाका अध्यक्ष राकेश दत्तले समाजका गरिब मानिसहरूलाई मात्र 2 रुपियाँमा उक्त एम्बुलेन्स परिसेवा उपलब्ध गराइने साथै सटीक रूपमा उक्त दायित्व पालन गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *