सिलगढीमा घरबाट चोरी भएका सामानसहित चोर पक्राउ

सिलगढी, 15 जनवरी (निसं): खाली घरको फाइदा उठाएर चोरी गरेको आरोपमा सिलगढी प्रधान नगर थाना पुलिसले एकजना चोरलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले चोरी गरेका सबै सामान पनि उद्धार गरेको छ। पक्रा पर्ने आरोपीको नाम मोहम्मद करीम हो। उनी सालबारी निवासी हुन्। सरोन व्यञ्जामिन मोक्तान नाम गरेकी एकजना महिलाको घरमा चोरीको घटना भएको थियो। उनी मूल रूपमा खरसाङ निवासी हुन्।
प्राप्त जानकारी अनुसार, प्रधान नगर थानाअन्तर्गत शिशाबारी क्षेत्रमा सरोन व्यञ्जामिन मोक्तानको एउटा घर छ, जुन 6 महिनादेखि बन्द अवस्थामा रहेको थियो। यसको फाइदा उठाएर चोरहरूले गत 30 दिसम्बरमा घरमा चोरी गरेका थिए। त्यसपछि स्थानीय मानिसहरू मार्फत घरमा चोरी भएको थाहा पाएपछि महिला घरमा पुग्दा घरको सबै सामान लथालिङ्गै रहेको साथै घरबाट टिभी, ग्यास सिलिण्डर सहित धेरै सामान हराएको थाहा पाए। त्यसपछि महिलाले यस विषयमा प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेकी थिइन्। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले मंगलबार सालबारी क्षेत्रबाट एकजना युवकलाई पक्राउ गरेको छ। पुलिसले तिनीसित सोधखोज गर्दा युवकले चोरी गरेको कुरा स्वीकार गरे। पछि पुलिसले सालबारी क्षेत्रबाट चोरी गरेका सबै सामान उद्धार गरेको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *