सिलगढीमा घर मालिकनीको हत्यारा विकास पन्जियार पक्राउ

सिलगढी : सिलगढीमा घर मालिकनीको हत्या गर्ने युवकलाई नेपाल सिमानाबाट पक्राउ गरेको छ। प्रधाननगर थाना पुलिसले आज पक्रा परेका विकास पन्जियारलाई सिलगढी अदालतमा पेश गरेर पुलिस हिरासतमा लिएको छ। घटनाक्रमअनुसार गत 3 दिसम्बरको राति सिलगढी 1 नम्बर वार्डको साउथ अम्बेदकर कोलनी निवासी मोहम्मद शाहजादको घरमा भाडामा बस्ने युवक विकास पन्जियारले घर मालिक र तिनको स्वास्नी गङ्गा छेत्रीमाथि हमला गर्दा गङ्गा छेत्रीको मृत्यु भएको थियो भने मोहम्मद शाहजाद गम्भीर रूपमा घाइते भएका थिए। उक्त घटनापछि आरोपी विकासले सुइँकुच्चा ठोकेका थिए। घाइते अवस्थामा शाहजादले आफूहरूमाथि भाडामा बस्ने युवक विकासले हमला गरेको बारे पुलिस तथा छिमेकीलाई बताएका थिए। विकास शाहजादको घरमा धेरै दिन अघिदेखि भाडामा बस्दै आइरहेका थिए। अभियोगको आधारमा प्रधाननगर थाना पुलिसले विकासको खोजी गरिरहेको थियो भने गोप्य सूचनाको आधारमा पुलिसले हिजो नेपालको सिमाना इलाकाबाट तिनलाई पक्राउ गरेको छ। पक्रा परेका युवकलाई आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसले हत्यामा प्रयोग गरेको छुरी पनि उद्धार गरेको छ। के कारणले गर्दा घर मालिकहरूलाई हमला गरेको हो भन्ने विषयमा पुलिसले छानबीन गरिरहेको छ। रुपियाँको कुनै लेनदेन विषयलाई लिएर सम्भवतः तिनीहरूमाथि हमला गरेको हुनसक्ने आशंकामा पुलिसले छानबीन गरिरहेको छ। उक्त घटनापछि फरेन्सिक टोली गत शुक्रबार उक्त घरमा गएर केही नमुना संग्रह गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *