नक्सलबारी, 26 नोभेम्बर (निसं): हात्तीको हमलाबाट हुने मृत्युहरूको संख्या बढ्दो छ। सिलगढी महकुमा परिषदले हात्तीलाई जंगलसम्म सीमित राख्नको लागि विरुवा रोप्ने योजना बनाइरहेको छ। हात्तीहरूको आहारको रूपमा जंगलको चारैतिर फल र केरा लगाइनेछ। सिलगढी महकुमा परिषदका सभापति अरुण घोष मङ्गलबार नक्सलबारीको पहाड गुमगुमा चिया बगानको दमदमा डिभिजनमा हात्तीको हमलामा मरेका मृतकका परिवारसँग भेट गर्न पुगे। सोही क्रममा उनले उक्त कुरा भनेका हुन्।
स्मरण रहोस, शौचालय जान लाग्दा हात्तीको हमलामा विजय नागको मृत्यु भएको थियो। घटना पछि आज सहकारी सभापति रोमा रेशमी एक्का, महकुमा परिषदका कर्माध्यक्ष किशोरी मोहन सिंहले पनि मृतकका परिजनसँग भेट गरे।
सिलगढी महकुमा परिषदका सभापति अरुण घोषले भने, सरकारी सहयोगको अतिरिक्त परिवारलाई रोजगार दिने विषयमा पनि विचार गरिनेछ। हात्तीहरूको संख्या बढ्दै गएपछि जंगलको वरिपरिका जमिनमा हात्तीहरूको आहारको लागि उपयुक्त फल र रुख लगाइनेछ। जसले गर्दा हात्तीहरू जंगलमै भोजन गर्न सकून्। यस अवसरमा मृतकका भाई सुमित नागले भने, दाजु विजय नाग परिवारका एक मात्र कमाउने व्याक्ति थिए। यदि प्रशासनले आर्थिक सहयोग र नोकरी दिए राम्रो हुनेछ।