सिलगढीमा केन्द्रीय वाहिनीका जवानहरूको लागि बस्ने व्यवस्थाको तयारी जोड़तोड़ले शुरू

सिलगढी : आउँदो विधानसभा चुनाउलाई केन्द्र गरेर पहिलो चरणमा 1 कम्पनी केन्द्रीय वाहिनीका जवानहरू सिलगढी आउने भएका छन्। यसको साथै राज्यको कतिपय जिल्लाहरूमा अगावै केन्द्रीय वाहिनीका जवानहरू आइसकेका छन्। सिलगढी, भक्तिनगर र मतिगढा थाना इलाकामा 1 कम्पनी केन्द्रीय वाहिनीका जवानहरू आइपुग्ने बताइएको छ। चुनाउभन्दा अघि कुनै प्रकारको हिंसात्मक गतिविधि नहोस् साथै इलाकामा शान्ति शृङ्खला कायम राख्ने उद्देश्य लिएर तिनीहरूले सिलगढी सहरको विभिन्न ठाउँहरूमा रूट मार्च गर्ने भएका छन्। प्राप्त जानकारीअनुसार एक कम्पनी सिलगढीको लागि प्रस्थान भइसकेको छ भने यसै हप्ताभित्रमै सिलगढी पुलिस कमिश्नरेट इलाकामा मोठ 3 कम्पनी केन्द्रीय वाहिनीका जवानहरू आइपुग्ने बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार केन्द्रीय वाहिनीहरूलाई सिलगढीको केही स्कुलहरूमा बस्ने व्यवस्था मिलाएको छ। सिलगढी थाना इलाकामा आउने केन्द्रीय वाहिनीहरूको लागि हिन्दी हाई स्कुलमा बस्ने व्यवस्था गरिएको छ भने त्यहाँ सबै तयारी पुरा भइसकेको जनाइएको छ। स्कुलको कक्षामा केन्द्रीय वाहिनीहरूलाई बस्ने व्यवस्था गरिएको छ। केन्द्रीय बल सिलगढी आइपुगेपछि सबैभन्दा पहिला तिनीहरूले यहाँको संवेदनशील इलाकाहरूमा रूट मार्च गर्ने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *