सिलगढीमा ल्याबको नाममा नकली रिपोर्ट बनाउने मामिलामा एकजना पक्राउ

सिलगढी : सिलगढीमा फेरि ल्याबको नाममा नकली रिपोर्ट दिइरहेको आरोपमा पुलिसले हिजो एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर 5 दिनको पुलिस हिरासतमा लिएको छ। पक्रा परेका व्यक्ति इन्द्रजीत कुमारको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार मतिगढा थाना पुलिस र डिटेक्टिभ डिपार्टमेन्टले हिजो राति अभियान चलाएर ल्याबको नाममा नकली रिपोर्ट दिइरहेको आरोपमा शिवमन्दिरबाट इन्द्रजीत कुमार नामक एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले आरोपी व्यक्तिबाट ल्याबको धेरै कागजपत्र पनि उद्धार गरेको छ। कोरोना महामारीको समयमा इन्द्रजीत कुमारले मानिसहरूको घर-घरमा गएर नमुना संग्रह गरेपछि नकली रिपोर्ट बनाएर दिइने गरेको बारे पुलिसले थाहा पाएपछि हिजो अभियान चलाएर उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। आरोपी व्यक्तिले सिलगढीको घोगोमाली चयनपाड़ा मेन रोडस्थित एउटा दबाई दोकान र डाइगोनेस्टिक सेन्टर चलाउने गर्थे भने हाल केही महिनादेखि बन्द रहेको थियो। हालैमा उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालका चिकित्सकहरूले अवैध ल्याबहरूविरुद्ध कार्वाही गर्नेबारे पुलिस कमिश्नरसित चर्चा गरेका थिए। अर्कोतिर, नकली रिपोर्टले गर्दा साधारण मानिसहरूलाई निक्कै समस्या भइरहेकोले चिकित्सकहरूले मानिसहरूलाई जागरूक हुने आहवान गरेका थिए। स्मरण रहोस्, केही दिन अघि पनि सिलगढी पुलिसले एकजना युवकलाई कोरोनाको झुटो रिपोर्ट दिने गरेको मामिलामा पक्राउ गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *