सिलगढीमा नाबालिकाको अस्वाभाविक मृत्यु, 5 जना विरुद्ध अभियोग दर्ता

सिलगढी : सिलगढीको निरञ्जननगरमा एउटी नाबालिकाको अस्वाभाविक मृत्युको घटनाले सनसनी मच्चिएको छ। उक्त घटनाको सम्बन्धमा परिवारपक्षले एकजना युवकसहित 5 जना विरुद्ध आसिघर आउटपोस्टमा अभियोग दर्ता गरेको छ। तिनको परिवारका सदस्यहरूले दिएको जानकारीअनुसार उक्त नाबालिका गत 15 अगस्तको दिन घरबाट घुम्न निस्केकी थिइन् भने राति तिनी बेहाल अवस्थामा घर फर्किआएकी थिइन्। यसपछि गत 16 अगस्तको राति उक्त नाबालिकाको झुण्डेको अवस्थामा शव उद्धार भएको बताइएको छ। हिजो नाबालिकाको घरबाट एउटा सुसाइड नोट भेट्टाएपछि परिवारका सदस्यले आज आसिघर आउटपोस्टमा गएर 5 जना युवकविरुद्ध एउटा लिखित अभियोग दर्ता गरेको छ। नाबालिकाको बाबुको भनाइअनुसार गत केही महिनादेखि इलाकाको एकजना युवकसँग आफ्नो छोरीको प्रेम सम्बन्ध रहेको साथै तिनले छोरीलाई घुमाउनु लैजाने बहानामा दुष्कर्म गरेको आरोप लगाए। दुष्कर्मको घटनापछि लाजले गर्दा छोरीले आत्महत्या गरेको बाबुले दावी गरेका छन्। घटनापछि आरोपी प्रेमीलगायत तिनका परिवारका सदस्यहरूले सुँइकुच्चा ठोकेको बताइएको छ। घटनाको जाँच शुरू गरेको आसिघर आउटपोस्ट पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *