सिलगढीमा निर्माणाधीन भवनको 7 तल्लाको छत भत्किँदा 1 जनाको मृत्यु, 2 जना घाइते

सिलगढी : बहुतले भवनको निर्माण कार्य चलिरहेको समय छत भत्केर एकजना श्रमिकको मृत्यु भएको छ भने अन्य 2 जना श्रमिक घाइते भएका छन्। मृतक श्रमिक बिहार निवासी धीरेन्द्र सिंह र घाइतेहरू दुवै सिलगढीको हातीयाडाङ्गा निवासी सूर्य राय र सञ्जय बर्मनको रूपमा चिन्हित गरिएको छ। उक्त घटनापछि श्रमिकहरूको सुरक्षालाई लिएर प्रश्न चिन्ह खडा भएको छ। सहरभरिमै अधिकांश ठाउँमा बहुतले भवनहरूको निर्माण कार्यमा श्रमिकहरूले काम गर्दै आइरहे तापनि तिनीहरूको सुरक्षालाई लिएर कुनै पहल गरेको छैन। सिलगढीको 42 नम्बर वार्डको राय कोलनीमा एउटा निर्माणाधीन बहुतले भवनको 7 तल्लामा छतको काम चलिरहेको समय अचानक एकापट्टिको भाग भत्किएर झर्दा त्यहाँ कार्यरत 3 जना श्रमिक पनि भुइँमा खसेपछि एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य 2 जना गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर भक्तिनगर थाना पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर नजिकैको एउटा नर्सिङहोममा लगेको छ। अर्कोतिर, घटनाको खबर पाएर काउन्सिलर शोभा सुब्बा, बोरो चेयरपर्सन प्रीतिकणा विश्वास घटनास्थलमा पुगिन्। यसको साथै एसीपी शुभेन्द्र कुमार पनि घटनास्थलमा पुगेर घटनाको जाँच गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *