सिलगढीमा फेरि दुईवटा ब्याङ्क लुट्ने प्रयास, जाँचमा जुट्यो पुलिस

सिलगढी : गत राति केही दुष्कृतिहरूले सिलगढीको पानीट्याङ्की मोड नजिक रहेको दुईवटा ब्याङ्क लुट्ने प्रयास गरेको जानकारी प्राप्त भएको छ। आज बिहान एकजना कर्मी ब्याङ्क खोल्न आउँदा यसबारे थाहा पाएपछि तिनले सिलगढी पुलिसलाई खबर दिए। घटनाको खबर पाएर सिलगढी थानाका आईसी तथा पानीट्याङ्की आउटपोस्टका ओसी घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। प्राप्त जानकारीअनुसार गत राति केही दुष्कृतिहरूले केनरा र सोनाली ब्याङ्कको ताला र सटर भत्काएर ब्याङ्कभित्र प्रवेश गरेर ब्याङ्कको लकर भत्काउने प्रयास गरे तापनि तिनीहरूले ब्याङ्कमा राखेको रुपियाँ लुट्न असफल भएको बताइएको छ। ती दुष्कृतिहरूले भवनको छतमा रहेको एउटा गोदाम पनि लुट्ने प्रयास गर्नको साथै भवनको विभिन्न ठाउँको बिजुलीको लाइन काटिदिएको ब्याङ्क सूत्रले जनाएको छ। यसको साथै ती दुष्कृतिहरूले यहाँ जडान गरिएको सीसीटीभी क्यामारा अर्कोपट्टि घुमाइदिएको बताइएको छ। घटनास्थलबाट पुलिसले लकर भत्काउने फलामको समान समेत उद्धार गरेको छ। स्मरण रहोस्, केही दिन अघि पनि केही दुष्कृतिहरूले कोर्टमोड़स्थित एसबीआई ई-कर्नर लुट्ने प्रयास गर्नको साथै सुरक्षा गार्डमाथि पनि हमला गरेको थियो। सिलगढी पुलिसले हालसम्म उक्त घटनामा कसैलाई पनि पक्राउ गर्न सकेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *