सिलगढीमा राजनीतिक संघर्ष हुनुमा दुवै पार्टी दोषी : अशोक भट्टाचार्य

सिलगढी : वामफ्रन्टका शीर्ष नेता तथा सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले सिलगढीमा भएको राजनैतिक संघर्षको तीव्र निन्दा गर्दै उक्त घटनामा तृणमूल कांग्रेस र भाजपा दुवै दोषी रहेको बताए। तिनले सिलगढीको वर्तमान राजनीतिक परिस्थितिबारे अझ भने, सिलगढीमा राजनीतिक परिस्थिति उथल-पुथल रहे तापनि गत केही दिनदेखि सिलगढीमा विभिन्न राजनीतिक दलहरूमाझ देखापरेको घटना यसभन्दा अघि कहिले नभएको साथै शान्तिपूर्ण व्यवसायिक सिलगढी सहरमा हाल तृणमूल र भाजपाले राजनीतिक अशान्ति फैलाइरहेकोले यहाँका मानिसहरूले यसलाई कुनै प्रकारले स्वीकार नगर्ने तिनले बताए। तिनले सिलगढी सहरवासीलाई उक्त घटनाको प्रतिवाद जनाउने अपील गर्नको साथै उत्तरकन्या अभियान अवधि भएको घटनामा भाजपा कार्यकर्ताको मृत्यु भएकोले यसबारे उच्च स्तरीय जाँच गरिनुपर्ने माग गरेका छन्। स्मरण रहोस्, भाजपाको उत्तरकन्या अभियानलाई केन्द्र गरेर गत 6 दिसम्बरको दिन सिलगढी र फुलबारी इलाकामा उत्तेजनाको माहौल सृष्टि भएको थियो भने उक्त घटनामा एकजना भाजपा कार्यकर्ता उलेन रायको मृत्यु भएको थियो। यसको प्रतिवादमा हिजो भाजपाले सम्पूर्ण उत्तर बंगालमा 12 घण्टा बन्द बोलाएको थियो। यस अवधि सिलगढीको एयरभ्यु मोडको सडकमा टाँसिएको मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जीको पोस्टर च्यात्नको साथै जलाएको भाजपाविरुद्ध अभियोग उठेको छ। यसैको विरोध जनाउँदै हिजो साँझमा तृणमूल कांग्रेसले सिलगढी सहरमा एउटा विक्षोभ र्‍यालीको आयोजना गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *