सिलगढीमा स्कुलका छात्राहरूलाई अपहरण गर्ने प्रयास गरेको टोटो चालकविरुद्ध आरोप

सिलगढी: सिलगढीमा 5 जना स्कुलकी छात्राहरूलाई अपहरण गर्ने प्रयास गरेको टोटो चालकविरुद्ध अभियोग उठेको छ। तीमध्ये एउटी छात्राले कुनै प्रकारले टोटोबाट हाम फालेर आफ्नो प्राण बचाइन्। यसपछि अन्य छात्राहरू पनि टोटोबाट ओर्लिन्। तथापि, टोटो चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। उक्त घटना आज अपरान्ह सिलगढीको झङ्कार मोड संलग्न इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार सिलगढीको राजेन्द्र प्रसाद स्कुल अघिबाट 5 जना छात्राहरू टोटोमा चढिन्। उक्त छात्राहरू चौथो महानन्दा ब्रिज भएर जान चाहे तापनि उक्त टोटो चालकले झङ्कार मोड हुँदै सब्जी बजार भएर लगिरहेको समय एउटी छात्राले टोटो चालकलाई भुल बाटो लिएर गइरहेको भनिन्। तरै पनि टोटो चालकले छात्राहरूलाई त्यहीँ बाटो भएर लैजाँदा एउटी छात्रा चिच्याउँदै टोटोबाट हाम फालिन्। यसपछि टोटो चालकले केही क्षणको लागि टोटो रोक्दा अन्य 4 जना छात्राहरू पनि टोटोबाट ओर्लिन्। घटना सम्बन्धमा इलाकाका मानिसहरूले थाहा पाउन अगावै टोटो चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। यसपछि घटनाबारे खालपाडा आउटपोस्टलाई खबर गराइयो। घटनाको खबर पाएर काउन्सिलर विवेक सिंह पनि घटनास्थलमा पुगेका थिए। उक्त इलाकाको सीसी टीभी क्यामारा फुटेजको हेरेर खालपाडा आउटपोस्ट पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *