सिलगढीमा शिक्षा भवनको निर्माण गरिने

सिलगढी : सिलगढीमा नयाँ शिक्षा भवनको निर्माण गरिने भएको छ। सिलगढी प्राथमिक विद्यालय संसद कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर आज प्राथमिक विद्यालय संसदका चेयरम्यान डा. सुप्रकाश रायले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार सिलगढी नगरनिगमको 27 नम्बर वार्डको एउटा बन्द शिशु विद्यालयमा उक्त नयाँ शिक्षा भवनको निर्माण गरिने भएको छ। केही वर्ष अघिदेखि उक्त स्कुल बन्द अवस्थामा रहेको साथै उक्त स्कुलमा विद्यार्थीहरू नरहेकोले गर्दा यहाँ शिक्षा भवन निर्माण गर्ने निर्णय लिएको तिनले बताए। स्कुल एडुकेसन डिपार्टमेन्टलाई यसबारे प्रस्ताव दिइसकेको छ भने डिपार्टमेन्टले स्वीकृति दिए त्यहाँ चाँडै शिक्षा भवन निर्माणको कार्य शुरू गरिने तिनले बताए। मोठ 2 करोड 77 लाख रुपियाँको लागतमा शिक्षा भवनको निर्माण गरिने भएको छ। उक्त शिक्षा भवनको निर्माण भएपछि एकै छानामुनि शिक्षा विभागको विभिन्न कार्यालयहरू रहने तिनले बताए। धेरै समय अघिदेखि सिलगढीमा एउटा शिक्षा भवन बनाउने प्रयास भइरहे तापनि विविध कारणले गर्दा सो सम्भव नरहेकोले यसपल्ट उक्त सपना पुरा हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *