सिलगढीमा स्वास्थ्य साथी कार्ड मार्फत् चिकित्सा परिसेवा नपाएको आरोप, रोगीको परिवारद्वारा मुख्यमन्त्रीलाई पत्राचार

सिलगढी : नर्सिङहोममा स्वास्थ्य साथी कार्ड मार्फत् चिकित्सा परिसेवा नपाएको आरोप लगाउँदै रोगीको परिवारका सदस्यहरूले थानामा अभियोग दर्ता गरेका छन्। यसको साथै तिनीहरूले नर्सिङहोमको भूमिकालाई लिएर क्षोभ प्रकट गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार समेत गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार गत 21 अक्टोबरमा परेश बर्मन देवीडाङ्गा नजिक एउटा घरमा मिस्त्रीको काम गरिरहेको समय छतबाट लडेर घाइते भएपछि तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेको थियो। यसपछि गत 22 अक्टोबरमा तिनलाई प्रधाननगरको एउटा नर्सिङहोममा भर्ना गरेर उपचार चलिरहेको थियो। परिवारका सदस्यहरूको आरोप अनुसार उक्त नर्सिङहोममा भर्ना गर्दा स्वास्थ्य साथी कार्ड मार्फत् उपचार गरिने बताएको थियो। त्यस समय नर्सिङहोम कर्तृपक्षले 30 हजार रुपियाँ पनि लिएको थियो भने हाल फेरि रुपियाँको माग गरेको परिवारका सदस्यहरूको आरोप रहेको छ। परिवारका सदस्यहरूले यस विषयमा स्वास्थ्य साथीको हेल्प लाइन नम्बरमा सम्पर्क गरेपछि त्यहाँबाट नर्सिङहोमको बिल पठाउने भने तापनि नर्सिङहोमले बिल दिन अस्वीकार गरेको परिवारका सदस्यहरूको आरोप रहेको छ। यसपछि परिवारका सदस्यहरूले यस विषयमा प्रधाननगर थानामा लिखित अभियोग दर्ता गर्नको साथै मुख्यमन्त्रीलाई पत्राचार समेत गरेको बताइएको छ। बकैया राशि जम्मा नगरे रोगीलाई घर जान नदिने नर्सिङ होमको तर्फबाट जनाएको रोगीको परिवारका सदस्यहरूले बताएका छन्। दार्जिलिङ जिल्लाको जिल्लाशासक एस पन्नमबलमले यसबारे जाँच गर्ने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *