सिलगढी नगरनिगम चुनाउलाई लिएर प्रशासनिक बैठक, बुथहरूमा 2,772 पुलिसकर्मी तैनाथ गरिने

सिलगढी : सिलगढी नगरनिगम चुनाउ प्रचार आजदेखि बन्द भएको छ। भोलि 12 फरवरीको दिन सिलगढी नगरनिगम चुनाउ सम्पन्न हुने भएको छ। यसैले चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउने उद्देश्य लिएर हिजो सिलगढीको दिनबन्धु मञ्चमा प्रशासनिक बैठक सम्पन्न भयो। एसडीओको उपस्थितिमा सिलगढी पुलिस कमिश्नर गौरव शर्मा लगायत अन्य शीर्ष अधिकारीहरूलाई लिएर सिलगढीको 502 बुथहरूमा शान्तिपूर्ण ढङ्गमा मतदान सम्पन्न गराउनको लागि चर्चा परिचर्चा गरियो। सिलगढी नगरनिगम चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउन 2,772 पुलिसकर्मी मतदान बुथहरूमा तैनाथ गर्ने बैठकमा निर्णय लिएको छ। यसको लागि बाहिरबाट 15,00 पुलिसकर्मी सिलगढी आइपुगेका छन्, जसमा 12 जना इन्स्पेक्टर, 200  जना एसआई र एएसआई, 500 जना कन्स्टेबल, 60 जना महिला कन्स्टेबल सामेल छन्। सिलगढी नगरनिगम चुनाउमा यसपल्ट मोठ 502 मतदान केन्द्र रहेको छ भने तीमध्ये 18% संवेदनशील मतदान केन्द्रको रूपमा चिन्हित गरिएको छ। उक्त संवेदनशील मतदान केन्द्रहरूमा पुलिसको विशेष नजरदारी साथै कठोर सुरक्षा व्यवस्था अप्नाइनेछ। बैठकपछि सिलगढी पुलिस कमिश्नर गौरव शर्माले भने, राज्य चुनाउ आयोगको निर्देश अनुसार चुनाउको तयारी गरिएको छ। मतदान र मतगणना अवधि कठोर सुरक्षा व्यवस्था गरिनेछ भने सुरक्षा व्यवस्था अन्तर्गत 14 जना वरिष्ठ पुलिस अधिकारी, 302 जना पुलिस अधिकारी तैनाथ गरिनेछ। राज्य चुनाउ आयोगको निर्देशअनुसार एकदेखि तीनवटा मतदान केन्द्रहरूमा एकजना पुलिस अधिकारी र दुईजना हतियार सहित पुलिस कर्मी तैनाथ गरिनेछ। यसैगरी, 4 देखि 10 वटा मतदान केन्द्रमा एकजना पुलिस अधिकारी र चारजना हतियार सहित पुलिसकर्मी तैनाथ गरिनेछ। सिलगढी नगरनिगम चुनाउलाई ध्यानमा राखेर मेट्रोपोलिटनको एसओजी-लाई पनि अलर्ट राखिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *