सिलगढी नगरनिगमको देवालमा ज्ञापन पत्र टाँसेर एसएफआई तथा डीवाईएफआई-द्वारा विक्षोभ

सिलगढी : ज्ञापन पत्र ग्रहण नगरेपछि वाम छात्र युवा संगठनले सिलगढी नगरनिगमको देवालमा ज्ञापन पत्र टाँसेर विरोध प्रदर्शन गर्यो। सिलगढी नगरनिगममा निर्मल साथी, निर्मल बन्धु परियोजनाको अस्थायी कर्मचारी नियुक्त गर्ने विज्ञापनपछि धेरैजनाले यसको लागि नगरनिगममा आवेदन गरेका थिए। आवेदन गरेको 3 महिना बितिसक्दा पनि हालसम्म नियुक्ति प्रक्रिया सम्पन्न भएको छैन। यसैले आज एसएफआई तथा डीवाईएफआई-का सदस्यहरूले पारदर्शिताको रूपमा नियुक्ति प्रक्रिया सम्पन्न होस् भन्ने माग गर्दै नगरनिगममा ज्ञापन पत्र चढाउन आएका थिए। तर नगरनिगमका कमिश्नर सोनम वाङ्दी भुटियाले उक्त ज्ञापन पत्र लिन अस्वीकार गरेपछि संगठनका सदस्यहरूले नगरनिगमको देवालमा ज्ञापन पत्र टाँसेर विक्षोभ प्रदर्शन गरेको बताइएको छ। आन्दोलनकारीहरूलाई त्यहाँबाट हटाउन पुलिस वाहिनी घटनास्थलमा पुग्यो। संगठनका सदस्यहरूले बताएअनुसार हाल राज्यमा नियुक्ति प्रक्रियामा भष्ट्राचार गरेको आरोपमा सत्तारूढ पार्टीका नेता तथा मन्त्रीको नाम अघि आएपछि आफूहरू आतङ्कित बनेका छौँ। यसैले सिलगढीमा पारदर्शिताको साथमा नियुक्ति प्रक्रिया सम्पन्न गरियोस् भन्ने माग गर्दै आज संगठनको तर्फबाट नगरनिगममा ज्ञापन पत्र चढाउन गएका थियौँ। तर नगरनिगमका कमिश्नरले उक्त ज्ञापन पत्र लिन किन अस्वीकार गरे भन्ने विषयमा आफूहरूलाई थाह छैन। यो नियुक्ति प्रक्रियामा पनि भ्रष्टाचारको गन्ध आइरहेको तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *