सिलगढी फकदईबारीको एउटा घरमा दिउँसै दुष्कृतिहरूद्वारा हमला, एकजना घाइते

सिलगढी : दिउँसै लगभग 50 जना दुष्कृतिहरूले आज दिउँसो फकदईबारी निवासी सुशील राय र तिनको परिवारका सदस्यहरूमाथि हमला गरेको घटना प्रकाशमा आएको छ।  प्राप्त जानकारीअनुसार गत राति इलाकामा दुई पक्षमाझ झगड़ा हुँदा सुशील राय लगायत केही स्थानीय मानिसहरू झगडा रोक्न घटनास्थलमा पुगे। तर आज दिउँसो अचानक 50 जनाको एउटा दल आग्नेयास्त्रसहित सुशील रायको घरमा हमला गर्नको साथै तिनीहरूले सुशीलको घरमा ढुङ्गाले प्रहार गरेको बताइएको छ। उक्त घटनामा सुशील रायलाई सामन्य चोट लागेको छ भने तिनको सानो छोरा टीटु राय गम्भीर रूपमा घाइते भएका छन्। गम्भीर घाइते अवस्थामा टीटु रायलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको छ। सुशील रायले बताएअनुसार उक्त दुष्कृतिहरूलाई आफूले नचिनेको साथै तिनीहरूसित कुनै व्यक्तिगत दुश्मनी नरहेको तिनले जनाए। हिजो रातिको घटनालाई केन्द्र गरेर आज ती दुष्कृतिहरूले आफू लगायत परिवारका सदस्यहरूमाथि हमला गरेको तिनले आरोप लगाएका छन्। यसबारे तिनले आशिघर आउटपोस्टमा एउटा लिखित अभियोग दर्ता गराएका छन्। स्थानीय विक्रम मुखर्जीले बताएअनुसार हमला गर्ने व्यक्तिहरूले हिजो राति फकदईबारी निवासी पिन्टु लोहारमाथि सुनको चेन चोरी गरेको आरोप लगाएको साथै तिनीहरू मदपान गरेको अवस्थामा थिए। स्थानीय मानिसहरूले सडकबाट सुनको चेन खोजेर ती दुष्कृतिहरूलाई सुम्पिदिए तापनि अचानक तिनीहरूले आग्नेयास्त्रले हमला गरेको मुखर्जीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *