सिलगढी र बाघडुग्रामा भाजपा नेता तथा कार्यकर्तामाथि तृणमूलद्वारा हमला गरिएको आरोप

सिलगढी : सिलगढी र बाघडुग्रामा भाजपाका केही नेता तथा कार्यकर्ताहरूमाथि हमला गरेको तृणमूल विरुद्ध अभियोग उठेको छ। गत राति दुई भिन्न-भिन्नै ठाउँमा भाजपा नेता तथा कार्यकर्ताहरूमाथि हमला गरेको आरोप लगाइएको छ। भाजपा सिलगढी जिल्ला सांगठनिक सभापति प्रवीण अग्रवालले लगाएको आरोप अनुसार भाजपा सिलगढी युवा मोर्चाका जिल्ला उपाध्यक्ष अनित दास गत राति एउटा कार्यक्रमबाट घर फर्किरहेको समय सिलगढी इन्डोर स्टेडियम नजिक तृणमूल आश्रित केही दुष्कृतिहरूले तिनीमाथि हमला गर्दा तिनी गम्भीर रूपमा घाइते भएका छन्। तिनी बाहेक कृष्णेन्दु सुत्रधर नाम गरेका अन्य एकजना भाजपा कार्यकर्ता पनि घाइते भएका छन्। अर्कोतिर, बाघडुग्रामा पनि तृणमूलका केही दुष्कृतिहरूले भाजपा कार्यकर्तामाथि हमला गरेको सिलगढी जिल्ला सांगठनिक सभापति प्रवीण अग्रवालले आरोप लगाएका छन्। यस प्रकारको हमलाले आफूहरू नडराउने तिनले बताए। यस विषयमा युवा तृणमूल सभापति कुन्तल रायले प्रतिक्रिया व्यक्त गर्दै बाघडुग्रामा भएको हमला तिनीहरूको आपसी दलीय झमेल हो। अर्कोतिर, सिलगढीको इन्डोर स्टेडियम परिसरमा एकजना महिलासित गरिएको अभद्र व्यवहारले गर्दा स्थानीय मानिसहरूले एकजना व्यक्तिलाई कुटपीट गरेको थियो। सम्भवतः तिनै व्यक्ति भाजपा युवा उपाध्यक्ष  हुन सक्ने तिनले आशंका व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *