सिलगढी सहरमा मच्छरको आतङ्क, नगरनिगमद्वारा रोकथाम गर्ने कार्य शुरू

सिलगढी : सिलगढी सहरमा मच्छरको प्रकोप दिन-प्रतिदिन बढ्दै गइरहेको छ। साँझ पर्न साथ घर, दोकान लगायत सबै ठाउँहरूमा मच्छरको झुण्ड आउने गरेकोले मानिसहरूलाई कुनै पनि ठाउँमा बस्न निक्कै असुविधा भइरहेको छ। सिलगढी सहरको विभिन्न वार्डका मानिसहरूले गत केही दिनदेखि मच्छरको आतङ्कले वाक्क दिक्क भएर क्षोभ प्रकट गर्न थालेका छन् भने केही मानिसहरू मच्छरबाट हुने विभिन्न रोगको डरले चिन्तामा परेका छन्। यसैले नगरनिगमको तर्फबाट विभिन्न ठाउँमा डेङ्गुको रोकथामलाई लिएर जागरूक गराइरहेको छ। यसैबीच कतिपय वार्डका मानिसहरूले नगरनिगमसमक्ष मच्छरको प्रकोप कम्ती गर्नको लागि उपाय अप्नाउने अपील समेत गरेका छन्। 24 नम्बर वार्डका अभिषेक गुहा रायले मच्छरबाट बाँच्नको लागि इलाकावासीहरूलाई जागरूक हुनुपर्ने आग्रह गरेका छन्। अर्कोतिर, सिलगढी नगर निगमका चेयरम्यान प्रतुल चक्रवर्तीले बताएअनुसार, यस सम्बन्धमा नगरनिगमको तर्फबाट पहिला नै कदम उठाइसकेको छ। नगरनिगम यसबारे सचेत रहेको साथै गत 14 मार्चदेखि मच्छरहरूको लार्वालाई नष्ट गर्नको लागि वैज्ञानिक प्रकारले उपाय शुरू गरिसकेको छ। नगरनिगमले अब चाँडै नै यस समस्याको समाधान गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *