सिलगढीमा प्लास्टिकको क्यारी ब्याग विरुद्ध नगरनिगमको अभियान, व्यवसायीहरूलाई 500 रुपियाँ जरिमाना

सिलगढी (निसं): प्रतिबन्ध लगाए तापनि सिलगढी शहरको विभिन्न ठाउँमा हाल प्रतिबन्धित प्लास्टिकको क्यारी ब्याग निर्धक्कसित प्रयोग गरिँदैछ। विशेष गरेर सब्जी, फल-फुल, माछा बजारदेखि लिएर किराना दुकानहरूमा समेत ग्राहकहरूलाई प्लास्टिकको क्यारी ब्यागमा नै सर-समान दिने गरिन्छ। यसैले सिलगढी नगर निगमले दुर्गा पूजाभन्दा अघि आज फेरि एकपल्ट केही ठाउँमा अभियान चलाएको छ। यस अभियान अवधि प्रतिबन्धित केही मात्रामा प्लास्टिकको क्यारी ब्याग जफत गर्नको साथै केही व्यवसायीहरूलाई जरिमाना समेत लगाइएको छ। आज नगर निगमका कर्मचारीहरूले फुलेश्वरी बजारमा अभियान चलाएर केही व्यवसायीहरूलाई 500 रुपियाँको दरले जरिमाना लगाएका छन्। यस अवधि ती व्यवसायीहरूले जरिमाना लगाएकोमा क्षोभ प्रकट गरे। तिनीहरूको भनाई अनुसार सिलगढी शहरको धेरैजसो ठाउँमा ठूल्ठूला व्यवसायीहरूले प्लास्टिकको क्यारी ब्याग बिक्री गरिरहेका छन्। त्यहाँबाट नै शहरको सबै दोकानहरूमा क्यारी ब्याग ल्याइने गरिन्छ। तर किन ती ठूला व्यापारीहरू अनि प्लास्टिक क्यारी ब्याग बनाउनेहरूलाई कार्वाही गरिँदैन भन्दै तिनीहरूले आक्रोश व्यक्त गरेपछि केही समयसम्म विवाद देखा परेपछि पुलिसले स्थितिलाई सामन्य गऱ्यो। अर्कोतिर, दुर्गा पुजा अगावै सिलगडी शहरको विभिन्न बजारमा प्लास्टिक क्यारी ब्यागको प्रयोगलाई रोक्नको लागि नगर निगमले लगातार अभियान चलाउने भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *