सिलगढीको डीएस कोलनी छिनताई मामिलामा पुलिसले उद्धार गर्यो 50 हजार रुपियाँ

सिलगढी : ब्याङ्कबाट रुपियाँ निकालेर घर फर्किरहेको समय बाटोमा एउटी महिलाको 80 हजार रुपियाँ छिनताई गरेको घटनामा पुलिसले 50 हजार रुपियाँ उद्धार गरेको छ। एनजेपी थाना पुलिसले गत मंगलबार राति अनुप ग्वाला नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेर सोधखोज गर्दा छिनताई गरेको कुरा स्वीकार गरेपछि 80 हजार रुपियाँमध्ये 50 हजार रुपियाँ उद्धार गरेको छ भने बाँकी 30 हजार रुपियाँ उद्धार गर्ने पुलिसले प्रयास गरेको बताइएको छ। स्मरण रहोस्, गत शुक्रबार अपरान्ह फुलबारी 1 नम्बर ग्राम पञ्चायतको गोडामोड संलग्न रामनगर बस्ती निवासी बबिता रायले छोराको उपचारको लागि जम्मा गरेको रुपियाँ एनजेपी इलाकाको एउटा राष्ट्रकृत ब्याङ्कबाट निकालेर घर फर्किरहेको समय डीएस कोलनी इलाकामा दुईजना दुष्कृतिले 80 हजार रुपियाँ थुतेर चम्पट कसेको थियो। घटनापछि तिनले शुक्रबार साँझ एनजेपी थानामा रुपियाँ छिनताई भएकोबारे अभियोग दर्ता गरेकी थिइन्। अभियोगको आधारमा पुलिसले सीसीटीभी क्यामाराको सहयोगमा जाँच शुरू गरेपछि गत मंगलबार राति नौकाघाटबाट अनुप ग्वालालाई पक्राउ गर्नको साथै छिनताई गरेको 50 हजार रुपियाँ पनि उद्धार गरेको छ। अर्कोतिर, पुलिसको भूमिकालाई लिएर बबिता राय र तिनका परिवार खुसी छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *