सिमानामा गाई-गोरू तस्करी गर्न जाँदा बीएसएफ-ले चलाएको गोली लागेर बङ्ग्लादेशी तस्कर घाइते

कुचबिहार : सिमानामा गाई-गोरू तस्करी गर्न जाँदा बीएसएफ-ले चलाएको गोली लागेर एकजना बङ्ग्लादेशी तस्कर घाइते भएका छन्। उक्त घटना आज बिहान कुचबिहार जिल्लाको माथाभाङ्गा थाना अन्तर्गत चेङ्राखाटा सिमाना इलाकामा घटेको हो। घाइते व्यक्ति 30 वर्षीय मोहम्मद आलमको रूपमा चिन्हित गरिएको छ। हाल तिनी कुचबिहारको एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा उपचाराधीन अवस्थामा छन्। बीएसएफ सूत्रले दिएको जानकारी अनुसार आज बिहान गाई-गोरू तस्करी गर्ने उद्देश्यले केही तस्करको टोली सिमानामा भेला भएका थिए। त्यस समय बीएसएफ-का जवानहरूले तिनीहरूलाई रोक्ने प्रयास गर्दा उक्त तस्करहरूले जवानहरूमाथि हमला गर्दा बीएसएफ-का जवानहरूले आफ्नो रक्षाको लागि गोली चलाउँदा मोहम्मद आलम नाम गरेको एकजना तस्करको खुट्टामा गोली लागेको बताइएको छ। यसपछि अन्य तस्करहरूले घटनास्थलबाट सुइँकुच्चा ठोके। घाइते अवस्थामा मोहम्मद आलमलाई उद्धार गरेर माथाभाङ्गा महकुमा अस्पतालमा लगे तापनि त्यहाँबाट कुचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। घाइते मोहम्मदले गाई-गोरू तस्करी गर्ने गरेको कुरा स्वीकारेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *