सिङ्ताम चियाकमान बन्द, श्रमिकहरू विचल्नीमा

दार्जिलिङ : हाल दार्जिलिङ पहाडको एकपछि अर्को गर्दै चियाकमानहरू बन्द हुँदै गइरहेको छ। यसै क्रममा आजदेखि सिङ्ताम चियाकमान पनि बन्द भएपछि कमानमा कार्यरत 8 सय 50 जना श्रमिक तथा कर्मचारीहरूको भविष्य अनिश्चित बन्न पुगेको छ। प्राप्त जानकारीअनुसार सिङ्ताम रिसोर्टका इन्चार्जलगायत अन्य दुईजना सहप्रबन्धकले मालिक पक्षले दार्जिलिङका सह श्रम आयुक्तलाई पठाएको एउटा पत्रको प्रतिलिपि टाँसेर चियाकमान छोडेर गएपछि कमानमा आश्रित कर्मचारीहरू विचल्नीमा परेका छन्। चियाश्रमिकहरूको विविध समस्याहरूलाई लिएर देखापरेको विवादले गर्दा नै कमान बन्द भएको बताइएको छ। अर्कोतिर, चियाकमान बन्द भएपछि भोलि सबै श्रमिक संगठनले चियाकमानका सबै कर्मचारी तथा श्रमिकहरूलाई लिएर एउटा सभा गरेपछि यसबारे आगामी कार्यक्रमको दिशा निर्देश गर्ने भएको दार्जिलिङ तराई डुवर्स प्लानटेसन लेबर युनियनका सिङ्ताम शाखा समितिका सल्लाहकार विनय राईले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *