मङपु : मङपु सरस्वती विद्यालय भवनमा मङपुलाई स्वच्छ बनाउन अनि मङपु बजारको मैलालाई कसरी सटीक ठाउँमा राखेर पर्यावरण प्रदुषणमुक्त बनाउन सकिन्छ भन्ने विषयमा केबी गिरीको अध्यक्षतामा एउटा सेमिनारको आयोजना गरियो। अर्पणा राईले सञ्चालन गरेको कार्यक्रममा मङपु आउटपोस्ट थाना प्रभारी बिजय थामीले स्वागत सम्भाषण राख्दै आजदेखि नै मङपुलाई स्वछ राख्न सबैलाई अघि आउने अपील पनि गरे। सिन्कोना बगान निर्देशक डा. सामुएल राईले सबै मङपुवासीले आ-आफ्नो घरबाट निकालेको मैलाहरू अलग-अलग गरेर राख्ने अनि कुहुने मैलाहरूलाई एकपट्टि अनि नकुहुने अर्कोपट्टि राख्ने सुझाउ दिँदै सबैले यो प्रक्रिया आजदेखि नै शुरू गर्ने साथै कुहिएको मैलालाई सिन्कोना बगान व्यवस्थापनले किन्ने सल्लाह दिए।

प्लास्टिकमुक्त मङपु बनाउन घर अनि समाज मिलेर पहल गर्नुपर्ने साथै प्लास्टिकले गर्दै धेरै नै प्रदूषण भइरहेकोले जतिसक्दो प्लास्टिकको प्रयोगमा रोक लगाउनुपर्ने समाजसेवी कमलेश राईले बताए। पर्यावरण स्वच्छ राख्ने विषयमा कार्य गरिरहेका उत्सव प्रधानले मङपुलाई स्वच्छ राख्न सबैले आफ्नो घरको मैलालाई कसरी व्यवस्थापन गरेर मलमा परिवर्तन गरी माटो बनाएर काममा लगाउन सकिन्छ भन्ने विषयमा प्रोजेक्टरको माध्यमद्वारा सबैलाई जानकारी गराए। समारोहको प्रमुख अतिथि दार्जिलिङका एएसपी मनिष जोशीले उक्त सेमिनार एकदमै राम्रो भएको साथै सेमिनारमा राखिएका कुराहरूलाई सबैले मनमा लिएर आजदेखि नै घरमा गएर मैलालाई कसरी राख्न सकिन्छ भन्ने विषयमा पहल गर्ने सबैसित अपील पनि गरे। उक्त कार्यक्रममा मङपुका सम्पूर्ण संघ-संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।
