सिविटार बाघमारा बस्तीको कृषि बागवानी मेलामा साङ्गीतिक अनि सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटारको बाघमारा बस्तीमा भइरहेको चार दिवसीय कृषि बागवानी मेलाको दोस्रो दिन विभिन्न साङ्गीतिक अनि सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गरियो। दोस्रो दिन मेलामा विभिन्न विभागहरू जस्तै कृषि विभाग, बागवानी विभाग, प्राणी सम्पदा विभाग आदिको तर्फबाट स्टलहरू राखिएको थियो। कृषि बागवानी मेलाको दोस्रो दिन स्थानीय कृषकहरू लगायत पशु पालकहरूलाई पशु प्राणीहरूको लागि दिइने औषधिहरू वितरण गरियो। आज तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा रहेका स्वनिर्भर दलहरूले स्टलहरू राखेका थिए भने मेलामा विविध मनोरञ्जनात्मक खेलहरू पनि आयोजना गरिएको थियो। यसको साथै आज दोस्रो दिन सुकुमार बराईलीले सञ्चालन गरेको साङ्गीतिक र सांस्कृतिक कार्यक्रममा तीनधारे महानदी समष्टिको विभिन्न गाउँका स्थानीय कलाकारहरूले आ-आफ्नो कार्यक्रम प्रस्तुत गरे।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित थिए भने विशिष्ठ अतिथिका रुपमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टिको साङ्गठनिक सचिव उत्तम छेत्री, बिपन विश्वकर्म, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, तीनधारे पुलिस आउट पोष्टको ओसी मानव रोय, हेमराज छेत्री लगायत अन्यहरू उपस्थित थिए। चार दिवसीय कृषि बागवानी मेलाको तेस्रो दिन भोलि बुधवार बागवानी विभागको आयोजनामा सुन्तला खेती, च्याऊ खेती र किचन गार्डन विषयमा प्रशिक्षण शिविरको आयोजना गरिने भएको आयोजक समितिले जानकारी दिएको छ। यस चार दिवसीय कृषि बागवानी मेलाको समापन कार्यक्रममा आगामी 12 जनवरीको दिन मुख्य आकर्षणको रूपमा गायक जितेन लेप्चा र म्यूजिक तीनधारेको प्रस्तुति रहने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *