सिविटार चियाबारीको गैरी गाउँदेखि खेल मैदानसम्म पुग्ने सड़क कार्पेटिङ नगरेकोले स्थानीयहरूद्वारा मरमतिको माग

खरसाङ : खरसाङ महकुमा अन्तर्गत महानदीदेखि केही मुनि सिविटार चियाबारीको गैरी गाउँदेखि सिविटार तितिरी खेल मैदानसम्म पुग्ने सड़क कार्पेटिङ नगरिएकोले स्थानीयहरूले धेरै समस्याहरू झेलिरहेका छन्। 2017 भन्दा अघि नै लगभग 2 किलोमीटरको सड़क त्यसताक अनित थापाको पहलमा खनिएको थियो। त्यसबेला वर्क डनमा खनन् कार्य शुरु गरिए तापनि अनित थापा चेयरम्यान भएपछि उक्त सड़कको टेन्डर भएर गत वर्षदेखि काम शुरु भएको जानकारी प्राप्त भएको छ। यसपाली वर्षाको कारणले सड़क निर्माण कार्य रोकिए तापनि वर्षाको समय सकिएपछि पनि हालसम्म यो सड़कको निर्माण नभएकोले गर्दा स्थानीय मानिसहरूले धेरै समस्या झेल्नु परेपछि सड़कको निर्माण कार्यको माग गरेका छन्। यो सड़क केवल खनिएको तर कार्पेटिङ नगरिएकोले केवल चारचक्के गाड़ीहरूमा पिक्अप् भ्यान र बगानको चियापत्ती बोक्ने गाड़ीहरू मात्रै कुदिरहेको साथै मुश्किलले स्कुटी र  बाइकहरू कुदिरहेको छ। यस सड़कको धेरै ठाउँमा गाड़ी र बाइकहरू कुदाउन धेरै समस्या हुने गर्दछ। त्यसैले यो सड़क झट्टै कार्पेटिङ होस् भनेर स्थानीयहरूले माग गरेका छन्। सिविटार चियाबारीको चियापत्ती बोक्ने पिक् अप् भ्यानको लागि कमानबाट धेरैपल्ट बाटो मरमति गर्दै कुदाइरहेको छ भने कतिपय ठाउँमा अझैं जोखिमपूर्ण अवस्थामा रहेको छ। स्थानीय वाहन चालकवर्ग तथा श्रमिकहरूले पनि यो सड़कको निर्माण कार्य चाँडै शुरु होस् भनी माग गर्दै सडक बनिए सिविटार चियाबारीका धेरैवटा गाउँलाई सुविधा हुने बताएका छन्। अर्कोतिर, यस विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीका साङ्गठनिक सचिव उत्तम छेत्रीले यो सड़क अनित थापाको पहलमा खन्न थालिएको साथै वर्षाको कारणले कार्य रोकिएको थियो भने अब चाँडै काम शुरु हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *