सिविटार चियाबारीमा यसपाली सुन्तलाको फसल राम्रो भएकोले खोतीवालाहरू औधी खुशी

खरसाङ : खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीमा यसपाली सुन्तलाको फसल राम्रो भएको बताइएको छ। गत वर्षको तुलनामा यसपाली अधिक सुन्तला फलेको स्थानीयहरूले बताएका छन्। खरसाङ महकुमा अन्तर्गत सिटोङ, अम्बटे र सिविटार क्षेत्रमा धेर सुन्तला खेती गरिन्छ। तर यीमध्ये सिविटारमा अहिले पनि सुन्तला खेती निक्कै राम्रो फल्ने गर्छ। अम्बटेमा सुन्तला खेती हुन छोड़ेको छ भने सिटोङ क्षेत्रमा सुन्तला फलाईको मात्रा कम भइरहेको छ। सिविटार चियाबारीमा यसपाली सुन्तला खेती गर्ने कृषकहरूले राम्रै आशा गरेका छन्। सिविटार चियाबारीको कतिपय गाउँतिर पैकारीहरू आएर एडभान्स बुकिङ पनि गरिसकेको जानकारी प्राप्त भएको छ। खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको तितिरी गाउँ, शिवखोला, गैरी गाउँ, छेत्री गाउँ, गुम्बा डाँड़ा, तेरेस गाउँ आदि गाउँहरूतिर सुन्तलाको खेती गरिन्छ। यी गाउँहरूमा यसपाली पनि सुन्तलाको खेती राम्रै रहेको बताइएको छ। सुन्तला खेती विषयमा सिविटारका कृषक शरण कुमार राईले बताए अनुसार सिविटारमा अझैं पनि राम्रो सुन्तला खेती भइरहेको र कतिजना कृषकहरूको सुन्तला बगानमा पैकारीहरू आएर एडभान्स बुकिङ शुरु गरेको बताएका छन्। तिनले आफ्नो बगानमा भने सुन्तला फलाईको मात्रा कम भएको तर सिविटारको अन्य भागहरूमा भने अहिले पनि राम्रो फलाई रहेको बताएका छन्। तिनले बिहानको पहिलो सूर्यको किरण पर्ने ठाउँतिर सुन्तलाको फलाई निक्कै राम्रो हुने गरेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *